काठमाडौं । स्वीट्जरल्यान्ड सरकारले कोरोना भाइरसविरुद्धको लडाइँमा साथ दिँदै नेपाललाई यसैसाता विभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज भएको टेलिफोन संवादमा नेपालका लागि स्वीट्जरल्यान्डकी राजदूत एलिजावेथ भन क्यापिलरले नेपाल सरकारलाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्न लागेको जानकारी दिइन् ।
राजदूत क्यापिलरका अनुसार स्वीट्जरल्यान्ड सरकारले अक्सिजन कन्सेन्ट्रेटर, पिपिई, मास्क र एन्टिजेन टेस्टिङ किट सहयोग गर्न लागेको हो । स्वास्थ्य सामाग्री बोकेको गुल्लिभ एयरको कार्गो चार्टर्ड जहाज शनिबार काठमाडौं आइपुग्ने स्वीस राजदूत क्यापिलरले जानकारी दिइन् । चार्टर्ड फ्लाइटको खर्च पनि स्वीस सरकारले नै व्यहोर्ने भएको छ ।
उपप्रधानमन्त्री पोखरेलले नेपाल र नेपालीप्रति सद्भाव देखाएकोमा स्वीट्जरल्यान्ड सरकारलाई धन्यवाद दिए । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित अमेरिकी राजदूत र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकसँग सहयोगका लागि अपिल गरेका थिए ।
नेपालमा कोरोना भाइरस संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत् सहयोगका लागि कुटनीतिक पहल गरिरहेको छ ।