ललितपुर । राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कार्य समितिले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट सञ्चालन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
नयाँ भेरियन्ट कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्दै गएको अवस्थामा अक्सिजनको चरम अभाव भएपछि लामो समयदेखि बन्द रहेको पाटन अस्पतालमा रहेको अक्सिजन प्लान्ट चाँडोभन्दा चाँडो सुचारु गर्नका लागि ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेपाल सरकार र ललितपुर महानगपालिकाबाट करोडौँ बजेट विनियोजित भएको र अन्य विभिन्न संघसंस्थाहरुबाट समेत रकमहरु प्राप्त गरेपनि अस्पतालमा रहेको अक्सिजन प्लान्ट सञ्चालन नभएको र मर्मत सम्भार कार्यमा ढिलासुस्ती भएको भनी व्यापक जन गुनासो आए पछि पाटन अस्पतालको निर्देशक डा. रवि शाक्यलाई उक्त ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवासंघ ललितपुरका संयोजक चिन लामाले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै निर्देशक शाक्यले पाटन अस्पतालको कोभिड बिरामीहरुको लागि बेड क्षमता ३ सयभन्दा माथि भए पनि अक्सिजनकै अभावले गर्दा हाल २ सयको हाराहारीमा मात्र अस्पतालले बिरामी भर्ना लिइरहेको कुरा बताए ।
अस्पतालको प्रशासन र व्यवस्थापनमा रहेको कमी कमजोरीलाई हटाई यथाशीघ्र नयाँ अक्सिजन प्लान्ट जडान गरि सञ्चालनमा ल्याइने समेत डा. शाक्यले बताए ।
कार्यक्रममा कोभिड नियन्त्रणका लागि आवश्यक परेमा आफूहरु स्वयंसेवकीय भूमिका निर्वाह गर्दै अस्पतालाई सहयोग गर्न तयार रहेको संयोजक लामाले बताए । कार्यक्रममा राष्ट्रिय युवासंघका केन्द्रीय सचिवालय सदस्य पृथविन्दु महर्जन, केन्द्रीय सदस्य राजु श्रेष्ठ, जिल्ला नेताहरु माधव श्रीमाली, शम्भु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।