काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशका पदमुक्त ४ जना सांसद्ले पुनः वहालीको माग गर्दै दिएको रिटमाथि सोमबार सुनुवाइ हुने भएको छ ।
सर्वोच्च अदालतमा आइतबार दर्ता भएको निवेदन न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको हो ।
सांसदहरु सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कप्पना पाण्डेले निवेदन दिएका थिए ।
पार्टीको एक पक्षले गरेको कारबाहीको निर्णय बदर गरी आफूहरुलाई पुनः काममा फर्काउन परमादेश माग गर्दै चार मन्त्रीले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।
उनीहरुको निवेदनमा लुम्बिनी प्रदेशसभा सचिवालय र सभामुख पूर्ण बहादुर घर्तीलाई विपक्षी बनाइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे जसपा विभाजित भएको थियो ।
पार्टी अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुले पोखरेललाई समर्थन गरेपछि अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले उनीहरुलाई कारबाही गरी पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो ।