काठमाडौं । लेखक तथा जसपाका युवा नेता मिलनकान्छा किराँतीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना नियन्त्रणमा केन्द्रित हुन अपिल गरेका छन् ।
माइग्रेण्ट नेपाली युनियन एसिया प्यसिफिक कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “सत्ता, शक्ति संघर्षको संसदीय फोहोरी खेल जनताले धेरै हेरे । कोरोनाले दिनहुँ सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या तीव्र बढ्दो छ । यस्तोबेला प्रमुख प्रतिपक्षी दल कांग्रेसको भूमिका पनि जनताले हेर्दैछन् । प्रचण्डले निकाल्ने परिणाम पनि हेर्दैछन । महामारीले आक्रान्त यो अवस्थामा लकडाउन मात्र समाधान होइन । यो त झन विकराल समस्या हो । जनताको चित्कार र पुकार सुन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई म आग्रह गर्दछु । राज्यको सबैथोक शक्ति र साधन प्रयोग गरेर कोरोना महामारी नियन्त्रणमा केन्द्रीत हुन हार्दिक अपिल गर्दछु ।”
उनले थपे, “उहाँले फेरि संविधानतः एक महिनाभित्र विश्वासको मत लिनु पर्ने होला । कांग्रेस, माओवादी सत्ता बाहिरका सबै दललाई के विनम्र आग्रह छ भने यो एक महिना कोरोना महामारीसँग लड्न प्रधानमन्त्रीलाई सहयोग गर्नुहोस् । त्यसपछि आउने उहाँको प्रगति विवरण हेरेर समर्थन वा विरोध गर्दा नै विज्ञानसम्मत हुन जान्छ । यो समय सबै एकढिक्का भएर कोरोनासँग युद्ध लड्ने र हार्ने होइन, जित्ने समय हो ।’’
जसपा फुट्नु हुँदैन
जसपा फुटको संघारमा छ, अब के हुन्छ ? भन्ने एक जिज्ञासामा उक्त पार्टीको केन्द्रीय परिषद सदस्यसमेत रहेका किराँतीले अहिले हरहालतमा जसपा फुट्नु नहुने यदि फुटिहाले यसको अस्तित्व समाप्त हुने बताएका छन् ।
उनले भने, “हामी विभिन्न पार्टी र पृष्ठभूमिबाट एकठाउँ भेला भएका छौँ । सबैको आ–आफ्नै समस्या छ । विशेषता छ । विचार छ । यस्ता साना–साना गल्ती देखाएर पार्टी फुटाउन खोज्नेहरुले राजनीति गर्नुभन्दा घाँस काट्नु, हलो जोत्नु नै उत्तम हुन्छ ।
“अहिलेसम्म हामीभित्र पुरानै आ–आफ्नो कलर छ । नयाँ कलर आउन केही समय लाग्छ । दुई नदी मिसिएको देख्नु भएको छ भने मिसिएर एक नदी भएर पनि निकै तलसम्म आ आफ्नै कलर लिएर बग्दछन् । केही घुम्ती, गोलाई र घागी पार गरेपछि एउटै कलरमा आउँछन । हाम्रो पार्टी पनि त्यहि अवस्थामा रहेको बुझिदिन आग्रह छ,” उनले भने ।
किराँतीले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायत १५ सांसदहरु तटस्थ रहेको विषय पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णय र व्यवस्था अनुसार नै भएकाले कोही उत्तेजित र अचम्मित नहुन पनि आग्रह गरेका छन् ।
विदेशमा रहेका नेपालीहरुबीचमा देश फर्क अभियान सञ्चालन गर्ने उनले बताए । तीन आधार तीन तहमा सञ्चालन गरिने उक्त अभियान विश्वभर रहेका लाखौँ नेपालीले तीन क्लिकमा सदस्यता लिनेदेखि लिएर सारा अभियानबारे जानकारी र देश फर्कन प्रोत्साहन हुन सकिने स्वरोजगार र व्यवसाायिक विविध विकल्पबारे थाहा पाउन सकिने उनले बताए ।