नेपाल सुपर लिगः धनगढीलाई हराउँदै काठमाडौं बन्यो च्याम्पियन

348

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ ।

शनिबार भएको फाइनलमा धनगढी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले निर्णायक गोल गरे ।

मेसौकेले खेलको २१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा काठमाडौंका फ्लोरेन्ट कोरेया ‘प्लेयर अफ दि म्याच’ चुनिए । उनले २५ हजार प्राप्त गरे । ‘इमर्जिङ प्लेयर अफ दि म्याच’ काठमाडौंका राजन गुरुङ चुनिए । उनले १० हजार प्राप्त गरे ।

उपाधिसँगै काठमाडौंले ३५ लाख प्राप्त गरेको छ । उपविजेता बनेको धनगढीले १५ लाखमा चित्त बुझायो ।

प्रतियोगितामा ललितपुर सिटी एफसीका कप्तान अञ्जान विष्ट उत्कृष्ट फरवार्ड चुनिए । यस्तै च्याम्पियन टिम काठमाडौंका मेसौके ओलोमोउ उत्कृष्ट मिडफिल्डर, धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपर धनगढीका किरण चेम्जोङ चुनिए । उत्कृष्ट प्रशिक्षक काठमाडौंका बाल गोपाल महर्जन चुनिए ।

व्यक्तिगत विधामा उत्कृष्ट बनेका खेलाडी र प्रशिक्षकले जनही १÷१ लाख प्राप्त गरे । प्रतियोगिताको ‘इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट’ काठमाडौंका विश्वास श्रेष्ठ चुनिए । उनले ५० हजार प्राप्त गरे ।

‘फेयर प्ले टिम’को अवार्ड बुटवल लुम्बिनी एफसीले हात पार्यो । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेञ्चाइज टिमको सहभागिता रहेको थियो ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेपाल सुपर लिगका अध्यक्ष आश्रेता कार्की चौधरी लगायतले पुरस्कृत गरे ।

Share This:
सम्बन्धित खबर
Loading...