कलंकी र बसपार्क बुकिङ काउन्टरका ७ जना कर्मचारी पक्राउ

1,025

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणा गरेको दिनदेखि परिचालन गरेको विशेष छड्के चेकजाँच तथा अनुगमन टोलीले विभिन्न स्थानबाट दैनिकरुपमा यात्रु ठगी गर्नेलाई पक्राउ गरेको छ ।

यात्रुसँग तोकिएको भन्दा तीन गुणा बढी भाडा लिने काउन्टरका ७ जना कर्मचारीहरुलाई कलंकी र बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए ।

ट्राफिक प्रहरीले सावित्रा काउन्टर कलंकीमा कार्यरत महोत्तरी गौशाला घर भई थानकोट बस्ने वर्ष ५३ को मनु अर्याल र उनकै छोरा बर्ष ३० को अनु अर्याललाई पक्राउ गरेको हो । त्यस्तै नारायणी यातायात काउन्टरका टिकट बुकिङ स्टाफ हेटौंडाका ३८ वर्षीय नवराज घिमिरे, कुलेश्वर बस्ने वर्ष ४४ का बिपिन सुबेदी र जय नेपाल सुपर डिलक्सका बुकिङ इञ्चार्ज सुन्धारा काठमाडौंका ४९ वर्षीय ज्ञानेन्द्र साह समेत बढी भाडा लिएको कसुरमा पक्राउ परेका हुन् ।

उनीहरुले धनुषा, महोत्तरी र बिरगञ्ज जाने यात्रुहरु संकलन गरी प्रति व्यक्ति २ हजार ५ सयदेखि ३ हजारसम्म भाडा लिने गरेको पाइयो, जुन तोकिएको भन्दा करिब तिन गुणा बढी हुन आउने महाशाखाले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीको लागी प्रहरी वृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ ।

त्यसैगरी गोङ्गबु बसपार्कबाट रुकुम जाने यात्रुहरुसँग ६ हजारका दरले भाडा लिने रुकुम पश्चिम यातायात प्रालिका कर्मचारी रुकुम सिस्नेरीका गणेश रावल र भागरिराम छिनाललाई पक्राउ गरि थप कारबाहीका लागि प्रहरी प्रभाग नयाँबसपार्कमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

पछिल्लो समय काउन्टरका कर्मचारी तथा बुकिङ्ग स्टाफहरु नै बढी भाडा लिएको कसुरमा पक्राउ पर्ने क्रम बढेको देखिन्छ । निषेधज्ञा लागु भएपछि अत्यावश्यक काम विशेष र विदेशबाट आएकाहरुसँग आफूखुसी बढी भाडा लिने १६ जनालाई पक्राउ गरी महाशाखाले कारबाही गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...