दाजुभाइ विदेशमा छन्, भाइटीका स्मृतिमा मात्र छ : दिदीबहिनी

4
  • प्रमिला कार्की/सन्तोषि रावल
काठमाडौँ, २४ कात्तिक । विगत २० वर्षदेखि भाइटीकाका दिन टीका लगाउन नपाउँदा सञ्चारकर्मी सहनशीला शर्माको हात खाली नै रहने गरेको छ । चार दिदीबहिनीका एकजना भाइ बेलायतको लन्डन बस्न थालेको २० वर्ष भयो । त्यसयता सहनशीलाका दिदीबहिनीले भाइटीकाका दिन भाइलाई प्रत्यक्ष भेट्न पाएका छैनन् ।

 

मिडिया हाउसका कार्यकारी निर्देशक सहनशीला प्रत्येक वर्ष भाइतिहारमा भाइको बाटो कुर्छिन्, तर भाइलाई सामन्ने नपाउँदा दुःख मान्नुबाहेक उहाँसँग अर्को विकल्प रहँदैन ।

 

हरेक वर्ष तिहार आउँछ, बजारमा फूलमाला र टीकाको रौनक पनि छाउँछ तर सहनशीलाका लागि भने भाइटीका पुरानै सम्झनामा मात्र सीमित रहँदै आएको छ ।

 

सहनशीला चारजना दिदीबहिनी र एक भाइ सबै नै फरक–फरक देशमा छन् । “दुरीले टाढा बनाए पनि भाइटीकाको आत्मीयता भने घटेको छैन,” उहाँ भन्नुहुन्छ ।

 

भाइटीकाका दिन उनीहरू फोन र भिडिओ कलमा कुरा गर्छन् । दिदीबहिनीले भाइलाई उपहार पठाउँछन् भने भाइले पनि दक्षिना पठाउँछन् । तर, फोनमा देखिने अनुहार र प्रत्यक्ष भेटेर सँगै बसेर टीका लगाउँदाको खुसी एउटै नहुने सहनशीलाको अनुभव छ ।

 

आफ्नो भाइबाहेक काका वा ठुलोबुवाका छोराहरूलाई टीका लगाउने चलन पनि उनीहरूको परिवारमा छैन । सबैका आ–आफ्नै दिदीबहिनी भएकाले अरूलाई टीका लगाउने नगरेको उहाँ बताउनुहुन्छ ।

 

चारजना दिदीबहिनी मिलेर भाइलाई टीका लगाइदिने, जिस्किने र हाँसोठट्टा गर्ने ती क्षण उहाँका लागि निकै प्रिय छन् । भाइले दक्षिणा दिँदा दिदीबहिनीलाई जिस्क्याउने गरेको सम्झँदा अहिले पनि उहाँ अतितको स्मृतिमा डुब्न पुग्नुहुन्छ ।

 

सहनशीला दिदिबहिनीको मात्र होइन अन्य थुप्रै नेपाली दिदिबहिनीको पनि यस्तै व्यथा छ ।

 

प्रमिला बस्नेतका भाइ पनि दुई वर्षदेखि विदेशमा हुनुहुन्छ । यसपालिको तिहार उहाँ घरमै सामान्य रूपमा मनाउने योजनमा हुनुहुन्छ । भाइ विदेश गएदेखि नै उहाँले टीका लगाउन पाउनुभएको छैन । आफ्नो भाइबाहेक अरू कसैलाई टीका नलगाउने गरेको बताउने प्रमिला भाइ फर्किएपछि विशेष रूपमा तिहार मनाउने प्रतीक्षामा हुनुहुन्छ ।

 

“भाइ साथमा नहुँदा अलि नरमाइलो महसुस हुन्छ । भाइ हुँदा तिहारको माहोल नै फरक हुन्छ । भाइ नहुँदा खासै तिहार आएकोजस्तो नै महसुस हुँदैन । तिहार नै छैन जस्तो लाग्छ,” उहाँ भन्नुहुन्छ ।

 

अघिपछिभन्दा तिहारमा भाइको याद बढी आउने अनुभव साट्दै उहाँ भाइसँगै हुँदा सँगै बसेर टीका लगाउने, रमाइलो गर्ने र उपहार साटासाट गर्ने क्षण अहिले सम्झनामा मात्र सीमित रहेको बताउनुहुन्छ ।

 

रत्ना रायमाझीका लागि भने यसपालिको तिहारमा भाइको सम्झनासँगै वियोग पनि जोडिएको छ । उहाँका चार दाजुभाइमध्ये एकजनाको हालै निधन भएको छ । बाँकी तीनजना पनि फरक–फरक ठाउँमा छन् ।

 

उहाँका सबै दाजुभाइ फरक–फरक ठाउँमा रहेको बताउने रत्नामा यसपालिको तिहारमा विगतको जस्तो खुसी छैन । “मेरो भाइ भर्खरै बितेका छन् । हामी शोकमा छौँ । त्यसैले यसपालिको तिहार त्यति राम्रो छैन,” उहाँ भन्नुहुन्छ ।

 

सानैदेखि तिहारलाई दाजुभाइ र दिदीबहिनीबिचको मधुर सम्बन्धका दृष्टिले विशेष दिनका रूपमा लिने गरेको उहाँ बताउनुहुन्छ । भाइटीकाको दिन परिवारसँगै बसेर मनाउँदाको खुसी सम्झँदा मन आनन्दित हुने भएपनि यसपालि भने भाइको अभावले तिहार नै नरमाइलो बनेको उहाँको अनुभव छ ।

 

त्यसैगरी, समाजसेवामा सक्रिय सुशीला खड्काका लागि पनि यसपटकको तिहारमा विगतको जस्तो उत्साहजनक छैन । उहाँका भाइ अस्ट्रेलियामा छन् । भाइलाई टीका नलगाएको दुई वर्ष भइसकेको छ । उहाँका अनुसार टाढिएको परिवार र भाइसँगको दुरीले तिहारको खुसीमा पनि केही खालीपन थपेको छ ।

 

विगतमा परिवारसँग मिलेर मनाएका तिहार र बाल्यकालका रमाइला क्षणहरू उहाँको सम्झनामा अझै ताजा छ । भाइसँग बिताएका ती दिन सम्झिँदा उनी भावुक हुन्छिन् । पहिलेको जस्तो पारिवारिक जमघट र आत्मीयता अहिले महसुस गर्न नपाएको उहाँको भनाइ छ ।

 

“तिहार आउँदा पुराना यादहरू धेरै आउँछन् । बाल्यकालमा मनाएको जस्तो रमाइलो त कहिल्यै भएन । समयसँगै सबै कुरा परिवर्तन हुँदै जाँदो रहेछ,” उहाँ भन्नुहुन्छ । दुई वर्षदेखि भाइको निधारमा सप्तरङ्गी टीका लगाउन नपाएकी सुशीलाका लागि तिहार अहिले उत्सवभन्दा बढी सम्झना र भावनासँग जोडिएको पर्व बनेको छ । –नेपाल न्युज बैङ्क
Share This:
सम्बन्धित खबर
Loading...