चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

13

गुल्मी, २७ असोज । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ । प्रतिकूल मौसमका कारण करिब चार महिनादेखि उक्त विमानस्थल प्रभावित भएको थियो ।

गुल्मीको रेसुङ्गा विमानस्थलका स्टेसन प्रमुख सुमन थापाले गत जेठको तेस्रो सातादेखि जिल्लामा हवाई उडान अवरुद्ध भएको जानकारी दिनुभयो । खराब मौसम, बाक्लो कुहिरो र हावाको चापका कारण उडान सञ्चालनमा समस्या आउन सक्ने भएकाले हवाई सेवा बाध्य भइ रोक्नुपरेको उहाँले बताउनुभयो ।

हवाई सेवा सञ्चालनमा आएसँगै मङ्गलबार काठमाडौँबाट १३ यात्रु बोकेर विमान गुल्मीमा अवतरण भएको थियो भने गुल्मीबाट दुई जना यात्रु बोकेर काठमाडौँ फर्किएको छ ।

नेपाल वायुसेवा निगमले मौसम अनुकूल भएसँगै सातामा तीन दिन उडान गर्नेगरी नयाँ तालिका निर्धारण गरेको छ । लामो समयदेखि हवाई सेवा प्रभावित हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामले राजधानी काठमाडौँसम्म जानुपर्ने यात्रु बढी समस्यामा परेका थिए ।

रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर विमानमार्फत काठमाडौँ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको छ ।

निगमले आजदेखि उडान तालिका समयमा समेत परिवर्तन गरेको छ । जसअनुसार आइतबार र मङ्गलबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ७ः१५ बजे र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ८ः१५ बजे र शुक्रबार काठमाडौँबाट रेसुङ्गाका लागि बिहान ६ः२० र रेसुङ्गाबाट काडमाडौँका लागि बिहान ७ः२० बजेको तालिका रहेको छ ।

निगमले काठमाडौँबाट गुल्मीका लागि १० हजार ७१० रुपैयाँ र गुल्मीबाट काठमाडौँका लागि १० हजार ५१० रुपैयाँ हवाईभाडा निर्धारण गरेको छ ।

गुल्मीमा हवाई सेवा सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा समेत सहजता आएको छ । सडकमार्गबाट राजधानी पुग्न १२ देखि १६ घन्टासम्म लाग्ने यस क्षेत्रका नागरिकलाई हवाई सेवाले ४५ देखि ५० मिनेटमै काठमाडौँ आवतजावत गर्न सहज भएको छ ।

नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि गुल्मीमा व्यावसायिक रूपमा हवाई सेवा सुरु गरेको थियो ।

पछिल्लो समय इन्धनको मूल्यवृद्धि, सडक पूर्वाधारको स्तरोन्नति र आरामदायी सार्वजनिक यातायातका साधन सहज रूपमा उपलब्ध हुन थालेपछि रेसुङ्गा विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको सङ्ख्यामा कमी आएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...