म्याग्दी, २५ असार । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्ण बहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ ।
सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्ण बहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो । “कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११औँ दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भन्नुभयो, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”
तीस वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजुभाइ र आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरुले माया मारिसकेका थिए । कर्ण बहादुरका भाइ (फुपुका छोरा) भूमिराज केसीले केही दिनअघि ताकममा भएको कुलपूजामा सहभागी हुन श्रीमतीसहित दाजु थातथलो खोज्दै आइपुग्दा सबै दङ्ग र अचम्ममा परेका बताउनुभयो ।
“नागरिकता बनाएपछि मामाघरमै जानुभएका कर्ण बहादुर दाइको अवस्था अज्ञात हुँदा हामीहरुले माया मारिसकेका थियौँ”, उहाँले भन्नुभयो, “जन्मथलो खोज्दै पुर्ख्यौली थलोमा आइपुगेपछि हामीहरु सबै खुसी भएका छौँ ।” जन्मजात रुपमा दाहिने आँखा नदेख्ने कर्ण बहादुरले २० वर्षअघि देब्रे आँखामा लागेको चोटको समयमै उपचार नपाउँदा दुवै आँखाको दृष्टि गुमेको बताउनुभयो ।
रुपन्देहीमा रहेको नेत्रहीन सङ्घको कार्यालयमा बाँसको मुढा बुन्ने तालिममा सहभागी हुने क्रममा त्यही काम गर्ने दृष्टिविहीन डिलमाया चौधरीसँग कर्ण बहादुरको चिनजान र १० वर्षअघि बिहेवारी भएको थियो । ३६ वर्षीया डिलमाया जन्मजात दृष्टिविहीन हुनुहुन्छ । शिक्षा शास्त्र सङ्कायमा स्नातक तह उत्तीर्ण गरेकी डिलमायाले सामाजिक सञ्जाल र वेबसाइटको माध्यमबाट श्रीमान् कर्ण बहादुरको जन्मथलोको ठेगाना पहिचान गरेर सम्पर्कमा आएको बताउनुभयो ।
डिलमायाको माइती र कर्ण बहादुरका मावलीको संरक्षणमा रुपन्देहीको सियारीमा सामानको ‘मार्केटिङ’ गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुको सात वर्षका छोरालाई नेत्रहीन सङ्घको समन्वयमा ललितपुरको छात्रावासमा बसेर अध्ययनको व्यवस्था मिलाइएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र पसलको ‘मार्केटिङ’ गरेर प्राप्त हुने ज्यालाबाट उनीहरुले घरव्यवहार चलाउँदै आएका छन् ।
आफन्त र दाजुभाइ भएकै ठाउँमा बसोबास गर्ने इच्छाअनुसार पुर्ख्यौली थलोमा आएका कर्ण बहादुरको घरजग्गा र सम्पत्ति छैन । अध्यापन गराउन सक्ने शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र भएकी डिलमायाले जागिरको खोजीमा रहेको बताउनुभयो ।
कर्ण बहादुरका दिवङ्गत दाजुका छोरा बालकृष्ण खत्री ताकममा बसोबास गर्नुहुन्छ । अर्की आमाबाट जन्मिएका भाइ पनि बेपत्ता रहेका भूमिराजले बताउनुभयो । “आफन्त खोज्दै आउनुभएका कर्ण बहादुर दाइ र भाउजुका लागि ताकममै हामी आफन्तहरुले घडेरीको व्यवस्था गरेर घर बनाइदिने प्रयासमा छौँ”, उहाँले भन्नुभयो, “सुकुमवासी उहाँको आवास निर्माणका लागि वडा कार्यालय, गाउँपालिकादेखि राज्यका सम्बद्ध निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।”