काठमाडौँ, १२ चैत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारलाई सघाउने पक्षमा रहेको बताउनुभएको छ ।
शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुग्नुभएका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने र सरकारलाई समर्थन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सहयोग गर्छौँ । सरकाले गर्नु पर्ने काम त्यसलाई प्रतिपक्षमा रहेर सहयोग गर्ने छौँ । देशलाई सघाउने पक्षमा रहेको छौँ ।”
राजनीति गर्ने मान्छेले सर्वोच्च पदमा पुग्ने उद्देश्य राख्नुपर्ने भएकाले भावी प्रधानमन्त्रीको रूपमा आफूलाई अघि सारेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजनीति गर्ने मान्छेले सर्वोच्च स्थानमा पुग्ने उद्देश्य राख्छ, राख्नुपर्छ । यसलाई अन्यथा मान्नुभएन । पार्टीको अध्यक्ष भएको नाताले सबै अरूले पनि भनेको हो त्यसमा मैले पनि भने त्यसमा ठुलो कुरा छ र जनताले जे निर्णय गर्नुभयो यसलाई हामीले सहर्ष स्वीकार्नुपर्छ सम्मान गर्नुपर्छ ।”