- पार्वती भण्डारी
काठमाडौँ, ९ चैत । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइँदै छ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो ।
मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । यसै सन्दर्भमा नेपाल न्युज बैङ्कले वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरेको कुराकानीमा उहाँले नेपालमा मौसम पूर्वानुमानको वर्तमान अवस्था, चुनौती र जलवायु परिवर्तनका असरबारे महत्त्वपूर्ण धारणा व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार नेपालमा वर्षभरको मौसम कस्तो हुन्छ भनेर एकैपटक पूर्वानुमान गर्ने अभ्यास नभए पनि सिजनल रूपमा जस्तै आगामी ६ महिना मनसुन कस्तो हुन्छ वा हिउँद कस्तो रहनेछ भन्ने पूर्वानुमान गर्ने गरिएको छ । “समग्र वर्ष नै यस्तो हुन्छ भनेर निकाल्ने होइन, तर सिजन अनुसार हामी पूर्वानुमान गर्छौँ,” उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने, विषम मौसमी घटना बढ्ने सम्भावना पनि क्रमशः बढ्दै गएको उल्लेख गर्नुभयो । मौसम पूर्वानुमान प्रक्रियाबारे स्पष्ट पार्दै उहाँले जल तथा मौसम विज्ञान विभागअन्तर्गत देशका विभिन्न स्थानमा रहेका अवलोकन केन्द्रबाट सङ्कलित तथ्यांकको विश्लेषण गरेर पूर्वानुमान गरिने जानकारी दिनुभयो । “हामीले विभिन्न ठाउँबाट आएका डाटालाई केलाउँछौँ । अहिले नयाँ प्रविधिहरू पनि आएका छन् । साथै स्याटेलाइटबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरेर हामी मौसम पूर्वानुमान गर्छौँ,” उहाँले भन्नुभयो ।
नेपालको भौगोलिक अवस्थाका कारण मौसम पूर्वानुमान चुनौतीपूर्ण हुने उहाँले बताउनुभयो । तराई, पहाड र हिमाली क्षेत्रको विविध भूगोलका कारण एउटै स्थानको पूर्वानुमान सबै ठाउँमा लागु नहुने उहाँको भनाइ छ । “हाम्रो भूगोल जटिल छ, त्यसैले पूर्वानुमान पनि त्यहीँअनुसार चुनौतीपूर्ण हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो ।
प्रविधिको हिसाबले विकसित राष्ट्रको तुलनामा नेपाल केही पछि भए पनि नेपाली प्राविधिकहरू सक्षम रहेको उहाँले उल्लेख गर्नुभयो । विश्वव्यापी रूपमा मौसमसँग सम्बन्धित प्रविधि साझा हुने भएकाले नेपालले पनि त्यसबाट लाभ लिइरहेको उहाँले बताउनुभयो। “यो जनधनसँग सम्बन्धित विषय भएकाले प्रविधि सेयर हुन्छ । तर, नेपालमा भौगोलिक अवस्थाका कारण प्रविधि विस्तार गर्न धेरै खचै लाग्छ । स्रोत र जनशक्ति पनि पर्याप्त छैन,” उहाँले भन्नुभयो ।
जनतासम्म पूर्वानुमान पुर्याउने विषयमा विभागले विभिन्न माध्यम अपनाइरहेको उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जाल, एसएमएस, फोन कल लगायतका माध्यम प्रयोग भइरहेको र थप प्रभावकारी प्रणाली भित्र्याउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।
हाल विभागले सतर्कता प्रणाली लागु गर्ने तयारी गरिरहेको र साथै आइभिआर प्रणाली पनि नेपालमा भित्र्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो । तत्कालीन मौसम अवस्थाबारे बोल्दै उहाँले वर्षा हुनु सकारात्मक पक्ष भएको बताउनुभयो । “वर्षा आफैँमा राम्रो हो, यसले बालीनाली र पानीका स्रोतलाई सहयोग गर्छ,” उहाँले भन्नुभयो ।
तर, वर्षासँगै असिना, हावा, हुरी, मेघगर्जन र चट्याङका कारण क्षति पनि हुने भएकाले यसलाई दुवै दृष्टिकोणबाट हेर्नुपर्ने उहाँको भनाइ छ । उहाँले कुनै पनि विषम् मौसमी घटनाले बालीनाली मात्र नभइ मानिसको दैनिक जीवनयापनमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन आवश्यक रहेको बताउनुभयो । –नेपाल न्युज बैङ्क