इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?

10

सुर्खेत, ६ चैत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ । बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताउनुभयो ।

इनिशाको घटना दुःखद्‌ भएको र उक्त घटनामा संलग्नलाई कानुनअनुसार कारबाही हुनुपर्छ भन्ने विषयमा सरकार गम्भीर भएको बताउनुभयो । “इनिशाको घटना दुःखद्‌ हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “घटनामा संलग्नलाई कानुनले भ्याएसम्म दण्डित गर्नुपर्छ ।” यसका लागि सरकारले गर्नुपर्ने पहल र प्रयासहरु भइरहेको उहाँले संसद्‌लाई जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको र विभिन्न प्रमाणहरुको पुष्टिका लागि सम्बन्धित पक्ष लागिरहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा बैठकमा आफ्नो नाम जोडेर आएका टिप्पणीप्रति मुख्यमन्त्रीले दुःख व्यक्त गर्नुभयो । आफूले मृतक इनिशा घटनापछि उहाँकी आमालाई भेटेको र दोषीको पहिचान गरी छोरीलाई न्याय दिलाउने विषयमा कुराकानी गरेको भए पनि बाहिर अरु नै विषय आएको भन्दै दुखेसो पोख्नुभयो ।

“घटनाको विषयमा थाहा पाएपछि आफ्नो कर्तव्य ठानेर मृतकको परिवारलाई भेट्न गएको थिएँ,” मुख्यमन्त्री कँडेलले भन्नुभयो, “इनिशाकी आमासँग घटनामा संलग्नहरूलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारबाही हुन्छ नै, प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजीकरण गर्ने कुरा व्यक्त गरेको थिएँ ।”

प्रदेशसभा बैठकमा भाग लिँदै नेकपाका सांसद रणसिंह परियार र उर्मिला बिकले पनि इनिशा विक हत्या प्रकरणमा संलग्नलाई कारबाहीको प्रक्रिया कहाँ पुग्यो भनि सरकारलाई प्रश्न गरेका छन् । कर्णालीको राजधानी प्रदेशकै मुटु वीरेन्द्रनगरमै छोरीहरु दिन दहाडै मारिन्छन्, यसले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने देखाउँदैन र ? रणसिंह परियारले प्रश्न गर्नुभयो । “प्रदेशको राजधाानी वीरेन्द्रनगरकै मुटुमा छोरीहरु बलात्कृत भएर मारिन्छन्, मृतकका परिवार न्याय पाउने विषयमा विश्वस्त छैनन्,” उहाँले भन्नुभयो, “घटनाको दुई साता बित्न लाग्दा पनि शव अस्पतालमै छ यसको जिम्मा कसले लिने हो ?”

प्रदेश सभा सदस्य उर्मिला विकले सरकार विभेदकारी भएको भन्दै आलोचना गर्नुभयो । कर्णाली प्रदेश सरकारले नै जातीय विभेद्‌ गरिरहेको उहाँको दुखेसो छ । “कर्णालीमा २९ प्रतिशत दलितको भोटबाट तपाईं त्यो कुर्सीमा बिराजमान हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अनि तपाईंहरुले बनाउने नीति र कार्यक्रम कति दलितमैत्री छन् ?’ दुई साता बित्न लाग्दा पनि इनिशाको शव उठाउनतर्फ सरकार गम्भीर नभएको उनको आक्रोश छ ।

सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले इनिशा हत्यामा संलग्नलाई कारबाहीको विश्वासिलो वातावरण नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । घटनाको दुई साता बित्न लाग्दा पनि इनिशाको शव आफन्तले बुझेका छैनन् । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको प्रहरीको दाबी छ ।

Share This:
सम्बन्धित खबर
Loading...