काठमाडौँ, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक केही केही ढिला सुरू हुने भएको छ ।
आइतबार बिहान बैठक बस्ने भनिए पनि केही प्राविधिक र व्यवहारिक कारणले बैठक बस्न ढिला हुने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
“रास्वपाको सचिवालय बैठक आज आह्वान गरिएको छ । बैठक केही प्राविधिक र व्यवहारिक कारणले विलम्व हुने भएको छ,” उहाँले भन्नुभयो ।
पार्टी सभापति रवि लामिछानेको स्वास्थ्य समस्याका कारण बैठकमा उपस्थित नभइ बैठक भर्चुअल रूपमा सहभागि हुने पनि झाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टी सभापतिको स्वास्थ्य अवस्था अझै पनि सामान्य भइसकेको छैन । तसर्थ उहाँसँग छलफल भइरहेको छ । भर्चुअल रुपमा बैठकमा सहभागि हुने उहाँको बाध्यत्मककारी अवस्था हामीले बुझ्नुपर्ने देखिएको छ । साथै केही सचिवालय सदस्यहरुको पनि निर्वाचनको अभियान र संघर्षपूर्ण समयपश्चात जुन उपलब्धि भएको छ त्यसपछि चिकित्सकहरुको सल्लाहअनुसार उहाँहरुले आराम गर्नुपर्ने बाध्यकारी अवस्था रहेको छ ।”
उहाँले समानुपातिक सूचीका नामहरु टुङ्ग्याएर आज नै निर्वाचन आयोगमा बुझाउने पनि बताउनुभयो । “केही सूचीहरुको क्रममा आन्तरिक प्रशासनिक प्रक्रिया वा अभ्यासहरु र प्रक्रियागतरुपमा टुङ्ग्याएर आज नै निर्वाचन आयोगमा बुझाउने तयारीमा छौँ । निर्वाचन आयोगले तोकेको र दिएको समय सीमाभित्र नै रास्वपाले त्यो सूची उपलब्ध गराउने छ,” उहाँले भन्नुभयो ।