काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कमी नहुने बताउनुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि आज पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले सामाजिक सञ्जालमार्फत् यस पटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने र त्यो फैसला शिरोधार्य गरेको स्पष्ट पार्नुभएको छ ।
उहाँले सूर्य चिन्हमा मतदान गरेर एमालेको पक्षमा उभिने सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्नुभयो । “जनताको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो,” उहाँले भन्नुभएको छ, “हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ ।”