दैलेख, २३ फागुन । दैलेख क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसकी उम्मेदवार बासना थापा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार थापा १२ हजार ३७२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार रबीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो निर्वाचन क्षेत्रमा कुल ७९ हजार ७०१ मतदाता रहेका थिए । निर्वाचन अधिकृत पाण्डेका अनुसार निर्वाचनमा रास्वपाका नन्दकिशोर बस्नेतले ८ हजार १५१ मत, नेकपाका अम्मरबहादुर थापाले ४ हजार २५६ मत, राप्रपाका रणबहादुर सिंहले ५९८ मत, नेमकिपाका जगतबहादुर ओलीले ३०२ मत, नेकपा माओवादी रामलाल विश्वकर्माले २३५ मत,राजमाका नरबहादुर सिंह ९१ मत, स्वतन्त्र लोगबहादुर बोगटीले २९ मत र आम जनता पार्टीका मेनुका श्रेष्ठले १६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, दैलेख क्षेत्र नम्बर २ मा पनि मतगणना जारी रहेको छ । निर्वाचन अधिकृत लोकहरी कँडेलका अनुसार सो क्षेत्रमा नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोखरेलले अग्रता लिइरहनुभएको छ भने उहाँलाई नेपाली काङ्ग्रेसका दिक्पाल कुमार शाहीले पछ्याइरहनुभएको छ ।