- तेजन खड्का
मोरङ, १४ फागुन । मोरङ निर्वाचन क्षेत्र नम्बर–१ यति बेला चुनावी गतिविधिले अत्यन्तै तातेको छ । विगत एक दशकदेखि एउटै राजनीतिक प्रतिस्पर्धाले चिनिएको यो क्षेत्र यस पटक नयाँ मोडमा पुगेको छ ।
पुराना समीकरण कमजोर बनेका छन् भने मतदातामाझ नयाँ विकल्पप्रतिको आकर्षण बढ्दो देखिन्छ । यही कारणले यस पटकको निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र नभइ राजनीतिक प्रवृत्तिको परीक्षणका रूपमा हेरिएको छ ।
२०७० यताका तीन निर्वाचनमा यहाँको मुख्य प्रतिस्पर्धा प्रायः डिगबहादुर लिम्बू र घनश्याम खतिवडाबिच केन्द्रित रह्यो । कहिले नेपाली काङ्ग्रेस बलियो देखियो, कहिले नेकपा (एमाले) । हार–जितको यही निरन्तरताले मोरङ–१ लाई प्रदेशकै प्रतिस्पर्धात्मक निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्यो। तर, यस पटक काङ्ग्रेसका अनुभवी नेता लिम्बू चुनावी मैदानबाहिर रहँदा राजनीतिक समीकरण स्वतः फेरिएको छ ।
उहाँको स्थानमा उर्लाबारीका पूर्वनगरप्रमुख खड्ग फागो उम्मेदवार बनेपछि चुनावले पुस्तान्तरणको सङ्केत दिएको छ । काङ्ग्रेसभित्र नयाँ नेतृत्वलाई अघि सार्ने प्रयास र मतदातामाझ नयाँ अनुहारप्रतिको उत्सुकता दुवै एकैसाथ देखिएको छ ।
नेपाली काङ्ग्रेसले स्थानीय तहको अनुभव, सङ्गठन विस्तार र जनसम्पर्कलाई आधार बनाउँदै फागोलाई अघि सारेको हो । नगरप्रमुख हुँदा देखाएको सक्रियता, स्थानीय विकास योजनामा सहभागिता र गाउँ–बस्तीमा निरन्तर उपस्थिति कांग्रेसका लागि चुनावी पुँजी बनेको छ ।
घरदैलो अभियानमा फागो मतदातासँग प्रत्यक्ष संवाद गरिरहनुभएको छ । उहाँले विकास, रोजगारी, कृषि, शिक्षा र सडक पूर्वाधारलाई प्राथमिक मुद्दा बनाइरहनुभएको छ । काङ्ग्रेसभित्रको मूल्याङ्कन अनुसार युवा मतदाता तान्नसके परिणाम आफ्नो पक्षमा ल्याउन सकिने विश्वास गरिएको छ ।
अर्कोतर्फ नेकपा (एमाले)का उम्मेदवार खतिवडाका लागि यो निर्वाचन निरन्तरता जोगाउने लडाइँ बनेको छ । एमाले कोशी प्रदेश अध्यक्षसमेत रहनुभएका उहाँले विगतका चुनावी अनुभव, सङ्गठनात्मक संरचना र कार्यकर्ताको सञ्जाललाई आफ्नो बलका रूपमा प्रस्तुत गरिरहनुभएको छ । तर, आलोचकहरू भने विकासको गति, अधुरा योजना र जनअपेक्षाबिचको दुरीलाई चुनावी बहसको केन्द्र बनाइरहेका छन् । यसले खतिवडालाई अघिल्ला चुनावभन्दा बढी दबाबमा राखेको देखिन्छ । राजनीतिक विश्लेषकहरूका अनुसार यस पटक उनले केवल विपक्षी होइन, मतदाताको बढ्दो असन्तुष्टिसँग पनि प्रतिस्पर्धा गर्नुपरेको छ ।
यस पटकको चुनावलाई फरक बनाएको अर्को पक्ष वैकल्पिक राजनीतिक शक्तिको सक्रियता हो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अधिवक्ता यज्ञमणि न्यौपाने मैदानमा हुनुहुन्छ ।
धरानका पूर्वमेयर हर्क साम्पाङको अभियानबाट प्रभावित श्रम संस्कृति पार्टीले पनि चुनावी माहोललाई प्रभावित बनाएको छ । उक्त दलबाट शान्ती पाख्रिन लामा उम्मेदवार रहनुभएको छ ।
त्यस्तै, जनयुद्धकालीन कमान्डर तथा पूर्वसांसद कुलप्रसाद साम्बा ‘कुशल’ को उम्मेदवारीले वामपन्थी मतमा विभाजन ल्याउन सक्ने अनुमान गरिएको छ । नयाँ दल र स्वतन्त्र धारको उपस्थितिले चुनावलाई दुई दलको प्रतिस्पर्धाबाट बहुपक्षीय प्रतिस्पर्धामा रूपान्तरण गरेको छ । १ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा विगतका परिणामले कुनै दलको स्थायी बर्चस्व स्थापित हुन नसकेको देखाउँछ ।
२०७४ मा एमाले विजयी भयो भने २०७९ मा काङ्ग्रेसले झिनो अन्तरले जित हात पारेको थियो । समानुपातिक मत परिणाममा एमाले अगाडि देखिए पनि रास्वपाले पाएको उल्लेख्य मतले मतदाताको झुकाव परिवर्तनतर्फ रहेको सङ्केत दिएको थियो ।
विश्लेषकहरूका अनुसार यस पटक अङ्कगणितभन्दा बढी मतदाताको मनोविज्ञान निर्णायक बन्न सक्छ । पुराना दलप्रति असन्तुष्टि र नयाँ विकल्पप्रतिको उत्सुकता चुनावको मुख्य कारक बन्ने देखिएको छ ।
स्थानीय तहमा भेटिने मतदाताहरू विकास, रोजगारी र सुशासनलाई मुख्य मुद्दाका रूपमा उठाइरहेका छन् । राजनीतिक प्रतिबद्धता धेरै सुने पनि कार्यान्वयन कमजोर भएको गुनासो व्यापक छ । यही कारणले यस पटक मतदाताले दलभन्दा पनि उम्मेदवारको कार्यक्षमता हेर्ने सङ्केत देखिएको छ ।
मोरङ–१ को चुनाव यस पटक जित–हारको प्रतिस्पर्धा होइन । यो पुरानो राजनीतिक विरासत, सङ्गठनको शक्ति, वैकल्पिक राजनीतिक उदय र परिवर्तनको आकाङ्क्षाबिचको प्रत्यक्ष भिडन्त हो ।
खतिवडाका लागि यो राजनीतिक निरन्तरता जोगाउने परीक्षा हुन सक्छ भने फागोका लागि नयाँ राजनीतिक अध्याय सुरु गर्ने अवसर । नयाँ शक्तिहरूले मत विभाजन गर्न सके परिणाम अप्रत्याशित बन्ने सम्भावना पनि उत्तिकै बलियो छ ।
परिणाम जे आए पनि, मोरङ–१ को यस पटकको निर्वाचनले बदलिँदो नेपाली राजनीति र मतदाता मनोविज्ञानको स्पष्ट सङ्केत दिने निश्चित देखिन्छ । यही कारणले यो क्षेत्र केवल एउटा निर्वाचन क्षेत्र नभइ राजनीतिक सङ्क्रमणको प्रतिविम्बका रूपमा हेरिएको छ । –नेपाल न्युज बैङ्क