नेपालमा जलपन्क्षीको सङ्ख्या घट्दो

12
  • भीष्मराज ओझा

काठमाडौँ, २२ माघ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपन्क्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपन्क्षीको प्रजाति र सङ्ख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को जलपन्क्षी गणनाबाट प्राप्त तथ्याङ्कअनुसार नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी अभिलेखिकरण भएको थियो । सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपन्क्षी अभिलेख भएका छन् । त्यसभन्दा पनि अघिका गणनामा एक लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।

वाटरल्याण्ड इन्टरनेसनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपन्क्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो । गणनालाई सहयोग पुर्याउन नेपालले सन् १९८७ देखि जलपन्क्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपन्क्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।

जलपन्क्षी गणनाको मुख्य उद्देश्य बसाइसराइँ गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी सङ्ख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्त्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पन्क्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपन्क्षी गणना गरिएको नेपाल पन्छीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिनुभयो । गणनामा ४११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक)बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइसराइँ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।

सिमसार अतिक्रमणले जलपन्क्षीको आहारामा कमी
कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, “जलपक्षीको सङ्ख्या विश्वमै कम देखिएको छ, नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेको, पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रसायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्छन् ।”

विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरिपरि, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजर्भवायरलगायतका क्षेत्रमा जलपन्क्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । जलपन्क्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा सङ्घ संस्थाको सक्रिय सहभागिता थियो ।

निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपक्षीको आहारमा कमी आएको बताउनुभयो । “सुरक्षित बासस्थान र आहाराको खोजी जलपन्क्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ” उहाँले भन्नुभयो । वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो ।

सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदूषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपन्क्षीको बासस्थानको विनाश हुने गरेको पक्षी संरक्षणकर्मी हिरुलाल डगौराले बताउनुभयो । “कृषि बालीनाली अत्यधिक रसायनिक मल र विषादीको प्रयोग तथा माछा मार्न हुने विषादीको प्रयोगले जलपन्क्षीका आहार कमी आएको छ । आहाराको खोजीमा जलपन्क्षी अन्यत्र जान सक्छन्,” उहाँले भन्नुभयो ।

पछिल्ला दिनमा सिमसारमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्, पर्यटन प्रवद्र्धनका नाममा तालतलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निर्माण र वनभोजजस्ता पर्यावरण प्रतिकूलतासमेत थपिएका पन्क्षी संरक्षणकर्मी डगौराको भनाइ छ ।

चराविद्का अनुसार यी जलपन्क्षी यात्राका क्रममा बाटोमा पर्ने तालमा आराम गर्दै आउँछन् । तर, कर्‍याङकुरुङ सारस भने प्रतिकूल मौसमबाहेकको अवस्थामा निरन्तर सयौँ किलोमिटर उडेर यात्रा गर्छ । यी चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म चल्छ । चैतसम्म भने प्रायःचरा आफ्नो स्थायी बसोबासस्थलमा प्रजननका लागि फर्कने गर्छन् । नेपालमा हिउँदमा बसाइँ सरी आउने पानी चरामा हाँस, जलेवा, गङ्गा चील आदि प्रजाति पर्छन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...