काठमाडौँ, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होसार पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताउनुभएको छ ।
सोमबार सोनाम ल्होसारको अवसरमा शुभकामना दिँदै उहाँले सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सोनाम ल्होसार केवल नयाँ वर्षको उत्सव मात्र होइन, यो पहिचान, संस्कृति, श्रम, प्रकृति र सामूहिक जीवनप्रतिको सम्मानको प्रतीक हो । डुक ल्हो (सर्प वर्ष)लाई बिदाई गरी ता ल्हो (घोडा वर्ष) को स्वागत गर्दै यस पर्वले परिवर्तन, गति र नयाँ संकल्पको सन्देश दिन्छ ।”
यस्तै, उहाँले तामाङ समुदायको ल्हो परम्परा, सेलो संस्कृति, डम्फु–टुङ्नाको धुन र सामूहिक उत्सवले नेपालको बहुजातीय र बहुसांस्कृतिक चरित्रलाई जीवन्त बनाउँदै आएको भन्दै यही विविधता नै राष्ट्रिय एकताको बलियो आधार भएको बताउनुभयो ।
उहाँले आज पनि सामाजिक न्याय, समानता, समावेशिता तथा उत्पीडित समुदायका अधिकारका लागि संघर्ष जारी रहेको भन्दै सोनाम ल्होसारले सबैलाई विभेदविरुद्ध एकजुट भइ सुशासन, समृद्धि र जनताको शासन स्थापना गर्ने अभियानमा अझ दृढ बनाउन सहयोग गर्ने बताउनुभयो ।