काठमाडौँ, २ माघ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् ।
धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि सहिद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाउनुभयो । उहाँले आन्दोलनका क्रममा उठाइएका मागहरू कागजी रूपमा स्वीकार गरिएको भए पनि व्यवहारमा कुनै पनि माग पूरा नभएको बताउनुभयो ।
“हामीले उठाएका मुद्दाहरू कागजमै सीमित भएका छन्, तर कार्यान्वयन भएको छैन,” उहाँले भन्नुभयो, “त्यसैले बाध्य भएर आज धर्नामा बसेका हौँ ।”
चौलागाईंले सहिद घोषणा गर्ने, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने जस्ता विषय सामान्य भए पनि सहिद परिवारको जीवनयापनसँग सम्बन्धित मूल मागहरू अहिलेसम्म बेवास्ता गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुन मुद्दा हामीले उठाएका छौँ त्यो पूरा भएका छैनन् । त्यसैले आज हामी धर्नामा बसेका हौँ । सहिद घोषणा गर्ने कुरो, अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गरिने कुरो यी साधारण कुराहरु हुन् । तर, सहिद परिवार बाँच्नुपर्ने जसमा जीवनयापन गर्नुपर्ने विषयमा जुन माग मुद्दाहरु छन् त्यो कुनै पनि पूरा भएका छैनन् ।”