युके छाडेर संवाद यात्रामा नेपाल आएकी प्रकृतिको लक्ष्य : गाउँ पुग्ने अनि आवाज बुलन्द पार्ने [भिडिओ]

13
  • आकाङ्क्षा धामी

काठमाडौँ, २ माघ । युकेबाट स्नातक अध्ययन पूरा गर्नुभएकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुग्नुभएको छ । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरू गरिएको यो यात्रा अझै निरन्तर रहेको उहाँले बताउनुभयो ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा ढकालले भन्नुभयो, “अहिले नेपाल राजनीतिक रूपमा ट्रान्जिसन फेजमा छ । पुराना र नयाँ शक्ति दुवै सक्रिय छन् । यस्तो अवस्थामा म आफ्नो ज्ञान, सीप र समयबाट देशका लागि के योगदान गर्न सक्छु भनेर जमिनमै पुगेर बुझ्न चाहन्छु ।”

उहाँका अनुसार संवाद यात्राको मूल उद्देश्य बोल्न होइन, सुन्न जानु हो । “सहर केन्द्रित आवाज मात्रै होइन, गाउँबाट तलबाट माथि आउने आवाज सुन्न जरुरी छ । आन्दोलन सडकमा मात्र होइन, समाजभित्र निरन्तर चलिरहेकै छ,” उहाँले भन्नुभयो ।

“काठमाडौँ बाहिरका ‘नदेखाइएका’ र ‘नभनिएका’ कथाहरू सङ्कलन गरी राष्ट्रियस्तरमा उजागर गर्ने, ती आवाजहरूलाई सामाजिक सञ्जालमार्फत देशभर साझा गर्ने, जागेको जेनजी पुस्ता र अघिल्लो पुस्ताबीचको सोच, अनुभव र भविष्यको दृष्टिकोण बुझ्ने प्रयास गर्ने एवम् स्थानीय समुदाय र नीति–निर्माताबिच संवादको पुल निर्माण गर्ने मेरो अभिष्ट हो,” उहाँले भन्नुभयो ।

‘संवाद यात्रा’ को नेतृत्व गर्दै नेपालका १४ बढी जिल्ला पुग्दा उहाँले नेपालको वास्तविक चित्रसमेत देखेको बताउनुभयो ।

“जेनजी आन्दोलनपछि मानिसहरुमा केही हदमा परिवर्तनको आशा र राजनीतिक चेतना बढेको पाए,” उहाँले भन्नुभयो, “जस्तो कर्णालीका युवामा काठमाडौँभन्दा कम रहेन छ राजनीतिक चेतना । परम्परागत दलबाट परिवर्तन नभएपछि युवा पुस्ता वैकल्पिक शक्ति हुने धेरैको अपेक्षा रहेछ । चुनाव भएमा परिवर्तन हुने आशा धेरैमा छ ।”

उहाँले देशको आमूल परिवर्तन (रेडिकल चेञ्ज) एक वा दुई व्यक्तिले भन्दा एउटा फोर्स नै आवश्यक रहेकाले आफूहरु त्यसमा लागेको बताउनुभयो ।

“मलाई लाग्छ जेनजी आन्दोलन आफू नेता बन्न होइन, परिवर्तनका लागि भएको हो । हामी अब चाहन्छौँ नयाँ सोच, दिमाग र इच्छाशक्ति भएका व्यक्ति जसले देशको मुहार फेरोस्,” उहाँले भन्नुभयो, “त्यो जेनजी विद्रोह कुनै वाद वा तन्त्रको लागि थिएन । त्यो भ्रष्टाचारले बन्धक बनाएको हाम्रो तन, मन र आत्माको पुनःजागरणका लागि थियो र हाम्रो भविष्य फिर्ता लिने लडाइँ थियो । अबको चुनावमा राम्रो मान्छेले जितोस् भन्ने हो । हामीलाई पद चाहिने होइन, देशको अजेण्डा माथि राख्ने व्यक्ति आओस्,” उहाँले भन्नुभयो ।

उहाँले म वा हामीभन्दा पनि राम्रो मान्छे आउनुपर्छ भन्ने सोच आफ्नो रहेको पनि बताउनुभयो ।

१४ जिल्लाको यात्रा, गाउँ–सहरको फरक अनुभूति
ढकालले हालसम्म पूर्वदेखि पश्चिमसम्म १४ जिल्लामा संवाद यात्रा गरिसक्नुभएको छ । तराई र पहाडी जिल्लामा पुग्नुभएका उहाँ हिमाली क्षेत्र मौसम र आर्थिक कारणले तत्काल जान नसकिएको बताउनुहुन्छ । इलाम, भोजपुर, जाजरकोट, सुर्खेत, मधेसका विभिन्न स्थान हुँदै यात्रा गर्दा उहाँले जनताको देशप्रतिको माया र परिवर्तनप्रतिको आशा समान देखेको बताउनुभयो ।

“बाटो–घाटो केही ठाउँमा राम्रो बनेको छ, तर विकास भनेको सडक मात्रै होइन,” ढकालले भन्नुभयो, “विद्यालयमा शौचालय, भवन, शिक्षकको अभावजस्ता आधारभूत समस्या अझै गम्भीर छन् ।”

‘छोरी मान्छे भएर निस्किँदा डर लाग्छ’ भन्ने अनुमान गलत
यात्राअघि सुरक्षाको चिन्ता रहेको स्वीकार्दै ढकालले भन्नुभयो, “छोरी मान्छे भएर गाउँ–गाउँ निस्किँदा चुनौती होला भन्ने लागेको थियो । तर, वास्तविकता उल्टो रह्यो । गाउँमा अपार माया, सद्भाव र सहयोग पाएँ । ‘अतिथि देवो भव’ भन्ने नेपाली संस्कार मैले प्रत्यक्ष अनुभूति गरेँ ।”

उहाँका अनुसार धेरैजसो स्थानमा स्थानीयकै घरमा बसेर, स्थानीयसँगै खाएर यात्रा सम्पन्न गरिएको थियो, जसले आर्थिक बोझ पनि परेन ।

विदेशमा देखेको पीडा र नीति सुधारको खाँचो
लन्डन स्कुल अफ इकोनोमिक्समा अध्ययन गर्नुभएकी ढकालले विदेशमा नेपाली विद्यार्थीहरूको अवस्था पनि नजिकबाट देखेको बताउनुभयो । “स्कलरसिपमा पढ्ने र काम खोज्दै भौतारिने नेपाली युवाबिच ठुलो खाडल छ,” उहाँले भन्नुभयो, “यसलाई समाधान गर्न राज्यको नीतिगत हस्तक्षेप आवश्यक छ ।”

उहाँले श्रम मात्र होइन, ज्ञान निर्यात गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । “आइटीजस्ता क्षेत्रमा नेपालमै बसेर विदेशका लागि काम गर्न सकिने सम्भावना छ । एक्सचेन्ज प्रोग्राम, रिमोट वर्क र रिटर्न पोलिसीमा ध्यान दिनुपर्छ,” ढकालले भन्नुभयो ।

‘अब अपोलिटिकल भएर बस्न सकिँदैन’
ढकालका अनुसार वर्तमान अवस्थामा कुनै पनि नेपाली अपोलिटिकल भएर बस्ने विकल्प छैन । “यदि स्थिर सरकार र सुशासन भएको भए राजनीतिमा नआए पनि हुन्थ्यो । तर, अहिले अर्थपूर्ण राजनीतिको दिशामा जानैपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले राजनीतिमा आउन चाहने युवाका लागि क्षमताको विकास आवश्यक रहेको बताउनुभयो । “सांसद भएर के गर्ने भन्ने स्पष्टता बिना राजनीतिमा आउनु हुँदैन,” उहाँले भन्नुभयो ।

निर्वाचन अपरिहार्य, तर सचेत मतदाता आवश्यक
आगामी निर्वाचनबारे ढकालले भन्नुभयो, “निर्वाचन लोकतन्त्रको अनिवार्य प्रक्रिया हो । तर चुनावभन्दा पनि महत्त्वपूर्ण कुरा मतदाताको सचेतना हो ।” पुराना दलले अवसर पाएर पनि अपेक्षित डेलिभरी गर्न नसकेकाले वैकल्पिक शक्तिप्रति जनताको चासो बढेको उहाँले बताउनुभयो ।

यसैबीच उहाँले संवाद यात्रामा उनले सोध्ने प्रमुख प्रश्न समेत साझा गरिन् जसमा उहाँको एक प्रश्न थियो, “अबको नेता कस्तो हुनुपर्छ ?’ जवाफमा अधिकांश नागरिकले एउटै कुरा भने, ‘नेताले सुन्न सक्नुपर्छ ।’ वीरगञ्जमा भेटिएकी एक आमाको भनाइ उद्धृत गर्दै ढकालले भन्नुभयो, “मेरो छोरी स्कुल जाँदा–आउँदा सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी दिन्छ भने म त्यहीँलाई भोट दिन्छु ।”

यात्रा निरन्तर रहने
ढकालले ‘देश परिवर्तन संवाद यात्रा’ अझै निरन्तर रहने बताउँदै भन्नुभये, “यो कुनै एक चरणको कार्यक्रम होइन, यो निरन्तर प्रक्रिया हो । सुन्ने, बुझ्ने र त्यसकै आधारमा दीर्घकालीन समाधान खोज्ने प्रयास हो ।”

उहाँले सबैको भविष्य देशले नै बनाउने हो, र त्यसका लागि संवाद, नीति सुधार र सक्षम नेतृत्व अपरिहार्य रहेको बताउनुभयो ।

चितवनमा जन्मिएकी ढकालले गण्डकी मेडिकल कलेजबाट मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएससी र किङ्स् कलेज नेपालबाट नन प्रफिट एमबिए डिग्री हासिल गर्नुभएको छ । उहाँले अक्सफोर्ड विश्वविद्यालयबाट सिस्टम्स् थिंकिङसम्बन्धी तालिम पनि लिनुभएको छ ।

पोखरा रिसर्च सेन्टरमा झन्डै चार वर्ष प्रोगाम अफिसरको रुपमा काम गर्नुभएकी प्रकृति अहिले युनाइटेड फर इम्प्याक्टकी कार्यकारी निर्देशक तथा आइएनल्याबकी ग्लोबल हेल्थ पोलिसी लिड पनि हुनुहुन्छ । –नेपाल न्यूज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...