किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइनभ्याइ

13

घोराही, ३० पुस । दाङको देउखुरी राप्ती नदी उकास जमिन, पाँगो बलौटे माटो । बिहान पुसको चिसो सिरेटोको बेवास्ता नराखी किसान फरुवा चलाउँदै सखरखण्ड निकाल्न व्यस्त छन् । कोही सखरखण्ड खन्दै, कोही भने टिप्दै र थुपार्दैछन् भने कोही बजार पठाउनका लागि बोरामा भर्दैछन् । घरका परिवारले मात्र नभ्याउने भएपछि अन्य कामदार लगाएर किसान सखरखण्ड खनिरहेका छन् ।

राजपुर गाउँपालिका–३ खरदरियाका किसान रामछोर यादव समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसानले सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको बताउनुभयो । तीन बिघा जमिनमा सखरखण्डखेती गर्नुभएका यादवले एक बिघामा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताउनुभयो । दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको छ, खन्न सके सखरखण्ड लिन व्यापारी रोपेको ठाउँमै आउने गरेका छन्, बिक्रीका लागि कुनै समस्या छैन, उहाँ भन्नुहुन्छ ।

व्यापारीलाई भनेको समयमा समान दिइसक्नुपर्छ । करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरिसक्नुभएका यादव यो वर्ष एक सय क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजार रूपैयाँसम्मको बिक्री हुने बताउनुहुन्छ । उहाँका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ रूपैयाँ र रातो सखरखण्ड ४५ देखि ४९ रूपैयाँमा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मेहनत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गरेका सोही ठाउँका अर्का किसान धर्मप्रसाद यादव बताउनुहुन्छ ।

माघेसङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले बजारमा यसको व्यापार बढ्दै गएको सोही ठाउँका अर्का किसान सीता यादव बताउनुहुन्छ । यो समयमा राम्रो बिक्री हुने भएकाले आम्दानी पनि मनग्य हुने उहाँको भनाइ छ । राजपुर गाउँपालिका–३ र ४ नम्बर वडाका २०० भन्दा बढी किसानले एकदुई कट्ठादेखि तीनचार बिघासम्म सखरखण्डको खेती गरेका छन् । एउटा किसानले थोरैमा २०–२५ हजार रूपैयाँदेखि बढीमा ५–६ लाख रूपैयाँसम्म यही समयमा सखरखण्ड बेचेर आन्दानी गर्छन् भने दुई करोड रूपैयाँ बढी पैसा गाउँ भित्रिन्छ । सखरखण्ड लिनका लागि व्यापारी बारीमै पुग्छन् ।

गतवर्ष ५० देखि ५५ रूपैयाँ प्रतिकिलो सखरखण्ड बिक्री गरेका किसानले यसवर्ष ४० देखि ४५ रूपैयाँ प्रतिकिलोका दरले सखरखण्ड बिक्री गरिरहेका छन् । बिक्रीका लागि समस्या नभए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको किसानको गुनासो छ । कम मिहिनेत र लगानीमा छोटो समयमा राम्रो आम्दानी हुने सखरखण्ड भदौमा रोपिन्छ भने पुसको दोस्रो साताबाट खन्न सुरु हुन्छ । देउखुरीको राजपुरमा उत्पादन भएको सखरखण्ड लमही, घोराही, तुलसीपुर बजारका साथै वुटवलदेखि कोहलपुर र सुर्खेतसम्म पनि पुग्ने गरेको किसान बताउँछन् । –रासस

Share This:
सम्बन्धित खबर
Loading...