जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस्

6
  • नारायण न्यौपाने

काठमाडौँ, ५ पुस । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको गत भदौ २४ गते गौशाला चोकनजिक गोली लागेर निधन भयो ।

नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उहाँ आन्दोलनमा जान प्रेरित हुनुभएको थियो । दिदी सुमित्राका अनुसार अघिल्लो दिन बानेश्वरमा गोली लागेर ढलेका युवालाई अस्पताल पुर्‍याउने कार्यमा उमेश सशक्त रूपमा खटिइ राति अबेर घर फर्कनुभयो ।

बानेश्वरमा प्रहरीले कति साथीहरूलाई छाती र टाउकोमा गोली हानेर ढाल्यो, धेरै घाइते भएका छन्, त्यसमध्ये केहीलाई आफैँले बोकेर अस्पताल पुर्‍याएँ भनी सोही दिन उमेशले दिदी सुमित्रालाई सुनाउनुभयो । ठुलो सङ्ख्यामा युवालाई गोली लागेको र हताहती भएपछि सरकारप्रति आक्रोशित भीड भोलिपल्ट सरकारी तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्न पुग्यो ।

सोही सिलसिलामा उत्तेजित भीडले गौशालास्थित गाई फर्ममा आगजनीको प्रयास गरेकामा त्यसलाई रोक्न चिच्याउँदै अघि बढिरहेका बेला उमेशको दायाँ छातीमा गोली लाग्यो । उहाँ त्यही ढल्नुभएको थियो । साथीहरूले उठाएर बानेश्वरस्थित फण्ट लाइन अस्पताल पुर्‍याए । शल्यक्रियाका लागि शल्यक्रिया कक्षमा पुर्‍याउँदा नपुर्‍याउँदै उमेशको निधन भयो ।

उमेशलाई गोली लागेको सूचना महत परिवारले दिउँसो करिब २ः३० बजे उमेशकै मिल्ने साथी सुवास खत्रीले सुनाउनुभएको थियो । सुवासका पिता सुवर्णले उमेशलाई विदेश नजाउञ्जेल स्नुकर खेलाउने रोजगारी उपलब्ध गराउनुभएको थियो । त्यसबापत उमेशले मासिक १० हजार रूपैयाँ तलब प्राप्त गर्नुहुन्थ्यो ।

घरको आर्थिक अवस्था कमजोर रहेकाले उमेशका बाआमा सिन्धुपाल्चोकबाट १९ वर्षअघि काठमाडौँ आएर चाबहिलमा तरकारी र सागसब्जी बेच्नुहुन्थ्यो । त्यही सागसब्जी बेचेर महत दम्पतीले घरपरिवारको गुजारा चलाउने र छोराछोरीलाई शिक्षादीक्षा दिलाउनुभएको थियो ।

श्यामबहादुर महत र कालीमाया महतका चार सन्तानमध्ये एक छोरा र एक छोरीपछि विसं २०६२ असोज ११ गते उमेशको जन्मभएको थियो । सानो उमेरमै उमेशलाई पत्थरीसहित मिर्गौलाको समस्या भएर लामो समयसम्म उपचार गराउनुपरेको थियो ।

बिरामीकै बीचमा उमेशले विद्यालय कपनको एक विद्यालय र उच्च माध्यमिक विद्यालयको शिक्षा चुच्चेपाटीस्थित लुम्बिनी कलेजबाट पूरा गर्नुभयो । लामो उपचार र स्वास्थ्य ठिक भएपछि पछिल्लो समय उहाँ वैदेशिक रोजगारीका लागि खाडीमुलुक जाने तयारी हुनुहुन्थ्यो । दिदी सुमित्राका अनुसार जुन दिन उमेशलाई गोली लाग्यो, त्यही दिन वैदेशिक रोजगारीमा जान भिसा लागेको खबर आयो ।

दिदी सुमित्रा भन्नुहुन्छ, “आमाबाले साँझ बिहान तरकारी बेचेर दुःख गरेर हामीलाई पढाउने, बढाउने र काम गर्नुभयो ।” परिवारमा भने चञ्चले र हासमुखी स्वभावको परिचय बनाउनुभएका उमेश सानैदेखि खेलकुदमा फुटबलप्रेमी तथा खानपिनमा मःम र कफीको पारखी हुनुहुन्थ्यो । त्यसका लागि दिदीसँग खर्च मागी रहनुहुन्थ्यो । केही वर्षअघि फुटबल खेल्दा उहाँको हातसमेत भाँचिएको थियो ।

छिमेकी मिल्ने अग्रज दाजु सुवास खत्रीका अनुसार उमेश साथीभाइका बिचमा सबैसँग बोल्ने, छिटो घुलमिल हुने, कसैलाई नबिझाउने र चित्त नदुखाउने युवा हुनुहुन्थ्यो । उमेशलाई सम्झँदै सुवास भन्नुहुन्छ, “साथीभाइको बिचमा उसले सबैको माया र सद्‌भाव पाएको थियो । पढाइमा मध्यम श्रेणीको ऊ निकै हासिलो र व्यवहारिक थियो ।”

भ्रष्टाचार अन्त्य, सुशासन प्रवर्द्धन, राजनीतिमा युवाको पुस्तान्तरण र निष्क्रिय तुल्याइएको फेसबुकसहितका सामाजिक सञ्चाललको सञ्चालनको माग राखेर नयाँबानेश्वर केन्द्रित आन्दोलनका क्रममा भदौ २३ गते ठुलो सङ्ख्यामा युवाको हताहती भयो । धेरै घाइते भए ।

जेनजी आन्दोलनका क्रममा मुलुकभर भएका आगजनी, तोडफोडसहितका हिंसात्मक घटनामा ७६ जनाको ज्यान गयो भने ८४ अर्ब रूपैयाँभन्दा बढी सरकारी र निजी सम्पत्ति नष्ट भएको प्रारम्भिक अनुमान छ । त्यसआन्दोलनका क्रममा प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत र सङ्घीय संसद् भवनलगायतका देशका महत्त्वपूर्ण भौतिक संरचनामा ठुलो क्षति भयो ।

गत भदौ २४ गते कान्छो छोरा उमेश गुमाउनुपरेको दिनको स्मरण गर्दै आमा कालीमाया महत भन्नुहुन्छ, “म १० बजेतिर काममा निस्किए, ऊ सुतिरहेको थियो । केही छिनपछि उठेर सिक्न आएकालाई स्नुकर खेलाएछ । आन्दोलनमा जाने कुरा गरेपछि खत्री दाइले नजा भन्नुभएछ । ऊ आन्दोलनमा गएको कुरा गोली लागेको खबर सुनेपछि मात्रै थाहा पाएँ ।”

कान्छोको पढाइलेखाइ राम्रो र चलाख भएकाले छिमेकी साथी सुवासको बाले स्नुकर खेलाउने रोजगारी दिएर मासिक १० हजार रूपैयाँ दिँदै आउनुभएको उमेशकी आमाको भनाइ छ । छोरा उमेशको निधनपछि पुरानो थातथलो सिन्धुपाल्चोक फर्केर भूकम्पको अनुदानबाट निर्माण गरिएको सानो भवनमा बस्दै आउनुभएको छ ।

पुरानो थातथलो भए पनि नयाँ श्रृष्टि गर्नुपरेकाले दैनिक गुजारा चलाउनसमेत उहाँहरूले सङ्घर्ष गर्नुपरेको छ । दैनिक ज्यालादारी र बेसाह खोजेर घर चलाउनुभएको छ । नेपाली पुरानो मान्यताअनुरूप घरका मानिस गुमाएको एक वर्षसम्म मूलघरमै बस्नुपर्छ–छोड्न मिल्दैन भन्ने भएपछि उहाँहरू पुरानो घर फर्कनुभएको हो ।

सहिद घोषणा गरेपछि राज्यले उपलब्ध गराउने रकम १५ लाख रूपैयाँ भने प्राप्त गरिसक्नुभएको छ । जेनजी पुस्ताको आन्दोलनका बलमा वर्तमान सरकार गठन भएको आजै मात्र १०० दिन पुगेको छ ।

यसबिचमा जेनजी पुस्ताले आन्दोलनका क्रममा उठाएका माग सम्बोधन गर्दै जाने सिलसिलामा जेनजी र सरकारबिच १० बुँदे सहमति भएको छ । त्यसमा सरकारले निर्धारित समयमा चुनाव गराउने, वित्तीय अनुशासन र सुशासनका लागि ठोस कदम चाल्ने तथा ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्ने विषय उल्लेख छ ।

सुशासन सहिद उमेशकी आमा रुँदै भन्नुहुन्छ, “कान्छो निधनपछि मन आतिएको छ, शरीर छटपटिन्छ, सरकारले आफैँले बुझेर के गर्दा जनता र देशको भलो हुन्छ, त्यो गरोस् कसैलाई केही भन्न र गर्न सक्दिनँ ।” राजनीतिक दल, सरकारले आफैँले जानेर गर्नुपर्ने काम गर्न फेरि पनि युवाले दबाब दिनुपर्ने र ज्यान गुमाउन पर्ने अवस्था सदाका लागि अन्त्य होस् भन्ने उहाँको सरकारलाई सुझाव छ ।

सहरका अरु युवापुस्ताझैँ खानपिनमा मःम र पिज्जा मनपराउने उमेशलाई अनेक दुःख गरेर भए पनि आमाबाले त्यो पुर्‍याउनुभएको थियो । उमेशकी आमा भन्नुहुन्छ, “छोरालाई बिरामी हुँदा सानोमा धेरै दुःख गरेँ विभिन्न रोगबाट बचाएँ, अहिले आन्दोलनको गोलीबाट बचाउन सकिन ।” –रासस

यो पनि हेर्नुहोस्

जेनजी सुशासन योद्धा : भट्ट परिवारको सहारा, कान्छो ढल्यो…

जेनजी आन्दोलनका सहिद : ‘छोरासँगै सहारा खोसियो’

सहिद परिवारको माग– छानबिन होस् र छिटो न्याय पाइयोस्

ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो…

जेनजी आन्दोलनका सहिद : ‘युवापुस्ताको आवाजको सम्मान गरियोस्’

जेनजी आन्दोलनका सहिद : एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति

जेनजी आन्दोलनका सहिद : आमाबुबाको बिलौना–‘मेरो छोरा अब कहिले फर्कन्छ ?’

जेनजी आन्दोलनका सहिद : अरुको सहारामा शिक्षा लिएका बुढाको सपना अधुरै

जेनजी आन्दोलनका सहिद : सन्तान गुमाउँदाको असह्य पीडा

जेनजी आन्दोलनका सहिद : ‘बाबालाई कस्ले गोली हान्यो ?’ छोराको प्रश्नले झस्काउँछ जानतीलाई

जेनजी सहिद : नयाँ बानेश्वरमा ढलेको सपना…

जेनजी आन्दोलनका सहिद : ‘पठाओ’ गरेरै आमाको उपचार गराउँथे बुढाथोकी

जेनजी आन्दोलनका सहिद : कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

जेनजी आन्दोलनका सहिद : ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिद : “चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ”

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो

जेनजी आन्दोलनका सहिद : जेनजी सहिद परिवारको माग- दोषीमाथि अविलम्ब कारबाही होस्

जेनजी आन्दोलनका सहिद : हक्की र सहयोगी स्वभावका थिए कमल

जेनजी आन्दोलनका सहिद : सरकारले जागिर लगाइदिने आशामा सहिदकी पत्नी मञ्जु

जेनजी आन्दोलनका सहिद : उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

जेनजी आन्दोलनका सहिद : सुशासन कायम गराउने आन्दोलनमा श्रीयमको बलिदानी

जेनजी आन्दोलनका सहिद : जेनजी आन्दोलनमा छोरा असहाब सहिद भए, बुबाको जागिर गुम्यो

जेनजी आन्दोलनका सहिद : परिवारको भविष्यको चिन्तामा अमर प्रहरी अमृतको परिवार

जेनजी आन्दोलनका सहिद : परिवर्तनको सपना बोकेर सडकमा निस्किएका साजन

सहिद बोहराकी आमा भन्नुहुन्छ– सञ्चो विसञ्चो सोध्न पनि कोही आएनन्

जेनजी आन्दोलनका अमर प्रहरी राय

जेनजी सुशासन योद्धाका आमा भन्नुहुन्छ- ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

वृद्धा बुवाआमा छाडेर जेनजी प्रदर्शनमा अस्ताए गोपाल

‘चुहिएको छानो र झ्यालको पल्ला फेर्ने देवको सपना अधुरै’

Share This:
सम्बन्धित खबर
Loading...