भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा [भिडिओ]

16
  • आकांक्षा धामी

काठमाडौँ, २६ मङ्सिर । नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गर्नुभएको छ । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैँ प्राथमिकता दिएको बताउनुभयो ।

थापाका ‘कुनै दिन त भेट होला’, ‘आजकलको मुना–मदन’, ‘तिम्रो आकर्षणले तानिरह्यो’ लगायतका गीतहरू अहिले पनि चर्चित छन् । यही मंसिर २६ गते रिलिज हुने चलचित्र ‘लोकान्ती’मा उहाँले मेलिना राईसँग गाएको नयाँ गीत ‘मायाको जातै कस्तो बेइमानी’ सार्वजनिक हुँदै छ ।

संगीत–यात्राको सुरुवात
सिन्धुलीमा जन्मिनुभएका थापाले बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्नुभयो । एसएलसीपछि संगीत पढ्ने लक्ष्य बोकेर काठमाडौँ आए पनि विभिन्न कारणले औपचारिक अध्ययन पूरा गर्न सक्नुभएन । तर, २०५७–५८ सालतिर बागबजारस्थित नेपाल आर्ट्स एण्ड कलिउड कला केन्द्रमा सुरेन्द्र श्रेष्ठबाट पहिलो औपचारिक संगीत कक्षा सुरु भएको उहाँले स्मरण गर्नुभयो ।

२०७१ मा रेकर्ड भएको ‘चोखो मायामा खोट लगाई बनायो पराई’ थापाको पहिलो औपचारिक गीत मानिन्छ । परिवारका सबै सदस्यमा संगीतप्रतिको प्राकृतिक झुकाव रहे पनि गीत रेकर्ड गर्ने काम भने थापाले एक्लै अघि बढाउनुभयो ।

आदर्श र प्रेरणा
संगीत बुझ्न थालेपछि उहाँले नेपाली आधुनिक संगीतका स्तम्भ नारायण गोपाल, भक्तराज आचार्यलगायत वरिष्ठ कलाकारहरूको योगदानप्रति सम्मान प्रकट गर्नुभयो । अहिले भने रामकृष्ण ढकाललाई आफ्नो प्रेरणाको रूपमा लिने गरेको बताउनुभयो ।

थापाले डा.कृष्णहरि बराल, कालीप्रसाद रिजाल, आनन्द अधिकारी, राजेन्द्र थापाजस्ता वरिष्ठ सर्जकसँग काम गर्ने अवसरलाई आफ्नो ‘सौभाग्य’ र ‘गर्व’ भएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “म नेपाली संगीतलाई एउटा राम्रो जो यो स्थानसम्म ल्याउनलाई पुराना आदरणीय नारायण गोपाल, भक्तराज आचार्यज्यूलगायत वरिष्ठ उहाँहरूको त एकदमै ठुलो योगदान छ । तर, अहिलेको अवस्थामा चाहिँ म रामकृष्ण ढकाललाई आदर्श मान्छु, आफ्नो संगीतको यात्राको ।”

सबै विधामा सक्रिय, तर सुगम संगीत प्राथमिकतामा
थापाले लोक, लोक–पप, रोमान्टिक, डान्सिङदेखि स्याड नम्बरसम्म सबै विधाका गीत गाए पनि सुगम संगीतलाई ‘आत्माको आवाज’ बताउँदै सधैँ प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।

उहाँ भन्नुहुन्छ, “म त अहिले पनि आफूलाई एकदमै विशुद्ध सिंगर भन्न रुचाउँछु । सिंगरभन्दा पनि अब म आफूलाई सुगम संगीतको अनुयायी भन्छु आफूलाई ।”

संगीत बजारका चुनौती
हालको संगीत बजार ‘खर्चिलो’ बन्दै गएको बताउँदै थापाले गीतसँगै अनिवार्यजस्तै बनेको म्युजिक भिडिओको खर्च कलाकारका लागि चुनौती भएको उल्लेख गर्नुभयो । राम्रो गीत बनाउँदा आर्थिक रिटर्न कम हुने भएकाले गुणस्तरीय सिर्जना कठिन बन्दै गएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले त अनिवार्य म्युजिक, गीत तपाईं कुनै पनि गीतहरू रेकर्ड गर्नुस् न, त्यसको म्युजिक भिडियो अनिवार्य जस्तै बनेको छ । त्यसले गर्दाखेरि म्युजिकले अलि खर्चिलो पनि बनाएको छ ।”

भाइरल संस्कृतिले संगीत क्षेत्रमा विकृति बढाएको टिप्पणी गर्दै थापाले परिवारसहित सुन्न नसकिने खाले ‘छाडा गीत’को उत्पादन पनि बढेको बताउनुभयो । राम्रा–नराम्रा सिर्जना छुट्याउने जिम्मा दर्शक–स्रोता कै भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब छाडा गीतहरूले समाजलाई, गलत सन्देश दिने, समाजलाई भड्काउ गर्ने काम गरिरहेका छन् । अलि अपाच्य भनौँ न, परिवारसँग बसेर सुन्न नसक्ने त्यस्ता गीतहरू पनि धेरै आएका छन् । राम्रो नराम्रो छुट्याउने भनेको श्रोता वा दर्शकले हो । दर्शक–स्रोता चेतनशील हुनुपर्छ भन्छु म ।”

एआई र प्रविधिप्रति दृष्टिकोण
थापाले प्रविधि र एआईलाई स्वीकार गर्नुपर्छ भने पनि ‘लामो समय बाँच्ने’ संगीत भने मानव सिर्जनाले मात्र सम्भव हुने धारणा राख्नुभयो । डिजिटल प्लेटफर्ममा नेपाली गीतहरू विश्वभरि चर्चित बन्नु सकारात्मक विकास भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक मान्छे प्रविधिमैत्री हुनैपर्छ तर सचेत हुन पनि उत्तिकै जरुरी छ । यसको लङ टर्म सोच्ने हो भने हिजोका दिन जे थिए, त्यो नै यसले निरन्तरता पाउँछ जस्तो मलाई लाग्छ । कालान्तरमा हुने भनेको एउटा सङ्गीतकारले गरेको सिर्जनाको महत्त्व नै हो । समग्रमा लङ लास्टिङ, बाँच्ने वा चल्ने भनेको चाहीं मानव निर्मित सिर्जना नै हुन् ।”

राज्यको भूमिका कमजोर
कलाकारलाई मार्गनिर्देशन र सुरक्षाको दृष्टिले राज्यको भूमिका कमजोर रहेको थापाको भनाइ छ । कलाकारले आफ्ना गुनासा सम्बन्धित संघ–संस्था र सरकारी निकायमा राख्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “अब राज्यले खासै केही गरेको छैन । राज्य नै कमजोर छ भन्छु म त । । त्यसकारण राज्यले भन्दा प्राय अब आफ्नो लागि आफैँले गर्ने हो । राज्यबाट म्युजिक संगीत क्षेत्र अथवा ललितकलाका कुनै पनि विधामा त्यस्तो राम्रो गरेजस्तो लाग्दैन । केही हदसम्म देखिने केही कामहरू त पक्कै होलान तर, अब एउटा आर्टिस्टलाई सर्भाइभ नै हुने हिसाबले अथवा उनलाई एउटा मार्गनिर्देश गर्ने हिसाबले राज्यले खासै गरेको जस्तो मलाई लाग्दैन ।”

टिआरपी र चर्चाका लागि पोडकास्ट वा रियालिटी शोमा ‘ह्यारेसमेन्ट’का विषय अनिर्दिष्ट रूपमा उठाउनु संगीत क्षेत्रकै सम्मानमा आघात हुने उनको दृष्टिकोण छ ।

थापाले संगीतलाई ‘मानव जीवनको अभिन्न हिस्सा’ बताउँदै, निरन्तर मेहनत, सही छनोट र सुगम, बाँच्ने गीतप्रति प्रतिबद्धता नै आफूजस्ता कलाकारको प्रमुख पहिचान भएको उल्लेख गर्नुभयो । –नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...