समयमै निर्वाचन गरेर सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ : मन्त्री खरेल

15

काठमाडौँ, २५ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्रा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले यस्तो बताउनुभएको हो ।

“संवेदनशील समयमा सरकारमा सहभागी छौँ । मुलुकलाई परिवर्तनको बाटोमा अगाडि बढाउने दायित्व सबैको काँधमा छ । यसतर्फ हामी सबैको ध्यान जाओस् । सरकार पनि चुनाव गर्दै सुशासनको अनुभूति गराउन प्रतिवद्ध छ,” उहाँले भन्नुभयो ।

उहाँले किताब जात्राले पठन संस्कृतिको विकासमा ठुलो योगदान पुर्‍याएको भन्दै प्रसंसा गर्नुभएको थियो । उहाँले शिक्षाभन्दा ठुलो संसारमा केही नभएकाले कोही पनि शिक्षाबाट बञ्चित हुन नहुने बताउनुभयो । शिक्षा अँध्यारो हटाउने उज्यालो ज्योति भएकाले जीवनका प्रत्येक पलमा पठन संस्कृतिलाई अंगाल्न आग्रह गर्नुभयो ।

फाउन्डेसनले भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनार्थ सात वर्षदेखि निरन्तर ‘किताब जात्रा’ कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा सामाजिक गहिराई, परम्परागत मूल्यको विश्लेषण, राजनीतिक सन्दर्भको भूमिका, सुनौलो भविष्यका लागि विभिन्न क्षेत्रका विज्ञहरू दिशाबोधका विषयमा गहन बहस र समीक्षा गरिने किताब जात्रा फेष्टबलका निर्देशक ऋषिराम अधिकारीले बताउनुभयो ।

“किताबको अक्षर वा शब्द थाक्दैनन् । तर, मानिस थाक्छ । कथा भने हिँडिरहन्छ । यस्तै कथाको प्रतिनिधित्व हो किताब जात्रा,” उहाँले भन्नुभयो । समाजमा शिक्षा र चेतनाको स्तर उकास्नका लागि पनि किताब जात्रालाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

उहाँले पठन संस्कृतिको विकासका लागि नेपाल मात्र नभएर देश बाहिर पनि यस्तै खाले कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले देशभित्र र बाहिर गरेर १५ वटा कार्यक्रम गरिसकेको जानकारी दिनुभयो ।

यसैगरी अभिनेता नाजिर हुसेनले मीठो कविता बाचन गर्दै सबैलाई मन्त्रमुग्ध तुल्याउनुभयो । उहाँले कवितामार्फत् आमा र बुबाको सपनाको सँगालो प्रस्तुत गर्नुभयो ।

‘हाम्रो घरमा
आमाजीको पुरानो थैली छ
पुरानो छ, तर छ
फोटो एल्बममा
बुबाको काटेको
श्यामश्वेत थैली छ’

उहाँको मीठो कविता वाचनशैली र पाश्र्वमा गुञ्जिरहेको बाँसुरी तथा मादलको सुरिलो धुनले दर्शकको मन छोएको थियो । सबैले उनको यो मर्मस्पर्शी कविताको सम्मानमा गडगडाहट ताली बजाए ।

महोत्सवमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तक्र्रिया फेस्टिबलमा दुई दर्जनभन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति रहने छन् । कार्यक्रममा देश–विदेशका साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतको उपस्थिति रहने छ । फेस्टिबलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ।

महोत्सवमा किताब प्रदर्शनी, मिथिला आर्टको लाइभ पेन्टिङ, फुड स्टल, जदौ हजुरको सांगीतिक प्रस्तुती, सुदूरपश्चिमेली छलिया नाच, तराइ मधेशको झिझिया नाच, पूर्वेली मारुनी नाच पनि देखाइएको छ ।

स्वस्ती बाचनबाट सुरु गरिएको किताब जात्राको उद्घाटनका क्रममा लाखे नाचसहितको झाँकी, अभिनेता नाजिर हुसेनको कविता बाचन, एआई साहित्यलगायतको प्रदर्शनसमेत गरिएको थियो ।

साहित्यकार नीलम कार्की निहारिका, लेखक तथा पत्रकार मोहन मैनाली, कवि, लेखक, गीतकार नवराज लम्साल, लेखक सुबिन भट्टराई, पत्रकार टीकाराम यात्री, बैंकर अनिल केशरी शाह, पत्रकार राजेन्द्र बानिया, रुपेश श्रेष्ठ, विराट अनुपम, सञ्जय सिलवाल गुप्ता, सम्पदा लिम्बू, विश्व लिम्बू, उत्सव रसाइली, दीपक राज जोशी, राजेश हमाल, वसन्त चौधरी, अमर न्यौपाने, विप्लब प्रतीक, मिलन बुढाथोकी, सन्दीप क्षेत्री, नरेश भट्टराईलगायत व्यक्तिहरू विभिन्न सेसनका बक्ता रहने छन् । यसैगरी किताब जात्रा फेष्टिबलका अवसर पारेर किताब यात्रा फाउण्डेसनले दुई जना व्यक्तित्वलाई १ लाख ११ हजार १११ ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ प्रदान गर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...