‘भँगेरा बाजे’को गुनासो : स्थानीय सरकारले नै भँगेराको महत्त्व र गम्भीरता बुझेन [भिडिओ]

25

कीर्तिपुर, २५ मङ्सिर । कीर्तिपुर चम्पादेवीका ध्रुव बस्नेत कुनै समय त्रिभुवन विश्वविद्यालका जागिरे हुनुहुन्थ्यो । उमेरले ७० कटेका उहाँको हिजोआजको दैनिकी सेवानिवृत्तिमा बितिरहेको छ । तर, जागिरे जीवन जति व्यस्त थिए त्यस्तै व्यस्तता अहिले पनि कायम छ ।

सरकारी सेवामा व्यस्त रहेको उहाँको दैनिकी हिजोआज फेरिएको छ । व्यस्तताको प्रकृति बदलिएको छ र परिचय फेरिएको छ । सरकारी जागिरे होइन, सामाजिक अभियन्ताको रुपमा उहाँको नाम स्थापित छ । अधिकांश सार्वजनिक सभा समारोहमा उहाँको गलामा एउटा प्ले कार्ड झुन्डिन्छ । त्यहाँ लेखिएको हुन्छ–‘भँगेरा सुकुम्बासी भै हराउन थाले, संरक्षण गरौँ ।’

यसरी भँगेरा संरक्षण अभियानको जुटेको पनि एक दशक नाघेको छ । सोही अभियानले उहाँको प्यारो नाम स्थापित छ–भँगेरा बाजे । कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीका स्थायी बासिन्दा उहाँलाई ‘भँगेरा बाजे’ भनेरै सबैले चिन्छन् ।

भँगेरा संरक्षणका लागि एक्लै खट्दै आउनुभएका बस्नेतको अभियानले यतिबेला थोरै मात्रामा भए पनि सार्थकता पाउँदै गएको छ । ०७२ सालको विनाशकारी भूकम्पले घरहरू मात्र होइन, पुरातन बासस्थानमा आश्रय लिने भँगेरा जस्ता उपयोगी चराहरूको अस्तित्व पनि संकटमा परेको थियो । यहीँ परिवर्तनले बस्नेतलाई भँगेरा संरक्षण अभियानतिर मोडिदिएको हो । २०७४ सालदेखि सुरू भएको उहाँको अभियान अहिले जताततै फैलिँदै गएको छ ।

बस्नेतका अनुसार बाल्यकालदेखि नै घर–आँगन वरिपरि सयौँ भँगेरा देखिन्थे । “हामीले त बिस्कुन कुर्न लठ्ठी लिएर बस्नुपथ्र्यो, भँगेराले खान्छ भनेर,” उहाँले आफ्नो बाल्यकालको अनुभव सुनाउनुभयो । तर, अहिले आधुनिक निर्माण पद्धति, कंक्रीट संरचना र पुराना डकर्मीहरुको अभावले परम्परागत ‘चख्खुप्वाः’ अर्थात् भँगेरा बस्ने स–साना प्वाल हराउँदै गएको छ ।

ध्रुव बस्नेतले ४५ सालतिर आफ्नो घर बनाउने कामका लागि बोलाएका डकर्मी भोसिन्चा गोपालीबाट भँगेराको महत्त्वबारे पहिलोपटक सुन्नुभएको थियो । “उहाँले घर बनाउँदा किन भँगेरा बस्नका लागि छुट्टै प्वाल बनाउनुपर्छ भनेर सिकाउनुभयो । “नेवारी संस्कृतिमा २०–२५ वटा चख्खुप्वाः अनिवार्य बनाइन्छ,’ भन्नुहुन्थ्यो,” बस्नेत सम्झन्छन् ।

गोपालीको भनाइले उहाँ गहिरोसँग प्रभावित हुनुभयो । ‘उहाँले भन्नुभएको थियो हामी मरेपछि पनि हाम्रो घर, हाम्रो समाज सुरक्षित रहोस् भनेर चख्खुप्वाः बनाइन्छ । भँगेराले किरा नियन्त्रण गर्छ, धानबारीको सुरक्षा गर्छ,” बस्नेतले बताउनुभयो ।

“पछिल्लो समय निर्माण भएका आधुनिक तथा नयाँ घरमा चख्खुप्वाः बनाउने संस्कृति नै छैन,” उहाँ भन्नुहुन्छ । २०७४ सालदेखि उहाँ स्वयंसेवी रूपमा घर–घरमा भँगेरा संरक्षण र चख्खुप्वाः निर्माणबारे जागरण फैलाउन थालेपछि स्थानीय स्तरमा त्यसको केही प्रभाव पर्न थाल्यो ।

उहाँ मेलाहरूमा, गाउँघरमा, छरछिमेकमा, जो–जो भेटिन्छन् ती सबैलाई भँगेराको फाइदा सुनाउनुहुन्छ । उहाँले आफ्नो खर्चमा पम्फ्लेट छापेर वितरण समेत गर्नुभएको छ । समुदायले आजभोलि उहाँलाई ‘भँगेरा बाजे’ भनेर प्रेमपूर्वक सम्बोधन गर्न थालेको छ ।

बस्नेतका अनुसार भँगेरा केवल घरको शोभा मात्र होइन, कृषिको सुरक्षाकर्मी पनि हो । भँगेराले धानबारीमा लागेको किरा खाने, बीउ संरक्षणमा सहयोग गर्ने, घर वरिपरि किरा नियन्त्रण गर्ने, जैविक विविधता जोगाउने लगायतका महत्त्वपूर्ण काम गर्दछ ।

उहाँका अनुसार भँगेराको प्रमुख शत्रु काग, सर्प र कतिपय अवस्थामा मान्छे नै हुन् । “कसैले नभेट्ने गरी, कागले नछुन सक्ने गरी चख्खुप्वाः बनाउनुपर्छ,” उहाँ सुझाव दिनुहुन्छ । बस्नेतको अभियानपछि धेरै ठाउँमा चख्खुप्वाः बनाउने चलन पुनःजीवित हुँदै छ । केही स्थानीय र वडा कार्यालयहरुले समेत भँगेराको बासस्थानका लागि चख्खुप्वाः बनाउन थालेको उहाँले सुनाउनुभयो ।

उहाँले नेपालमा मात्र पाइने चख्खुप्वा संस्कृति संरक्षण गर्न सबैलाई अगाडि आउन आग्रह गर्नुभएको छ । उहाँका अनुसार, भँगेरा संरक्षण गर्नु भनेको घर, गाउँ, प्रकृति र संस्कृतिको सुरक्षा गर्नु हो ।

बस्नेतले यतिबेला काठमाडौँका विभिन्न ठाउँमा पुगेर भँगेरा संरक्षण अभियानबारे जनचेतना फैलाइरहनुभएको छ । सामान्य दिनमा पनि उहाँ भँगेरा संरक्षण अभियानसम्बन्धी पोशाक लगाएर हिँड्ने गर्नुहुन्छ । यद्यपि, उहाँको अभियानले देशभरि कति प्रभाव परेको छ भन्ने बारेमा भने आफूलाई थाहा नभएको उहाँले बताउनुभयो ।

बस्नेतले २०७४ सालदेखि चैत्र १ गतेलाई ‘भँगेरा दिवस’ घोषणा गरेर औपचारिक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । पहिलो वर्षको कार्यक्रम उहाँको आफ्नै घरमा, दोस्रो वर्ष टौखेलका खेलका राजमान श्रेष्ठको घरमा, तेस्रो वर्ष कीर्तिपुरको क्रिएटिभ स्कुलमा, चौथो वर्ष चन्द्रागिरि–कीर्तिपुर नगरपालिकाको सभाहलमा र गतवर्ष चन्द्रागिरि नगरपालिकाको बोर्ड बैठकमा आयोजना भएको थियो ।

भँगेरा संरक्षणका लागि स्थानीय निकायसँग बजेटका लागि पहल गरिए पनि औपचारिक रूपमा कुनै स्तरबाट उहाँको अभियानलाई समर्थन प्राप्त भएको छैन । बस्नेत खुलेरै भन्नुहुन्छ, “नेपालको सरकार किसान विरोधी छ । हाम्रो नेवारी संस्कृतिमा २०–२५ वटा चख्खुप्वाः अनिवार्य थियो । तर, घर नक्सा पास गर्ने निकायले आजसम्म त्यो परम्परालाई मान्यता दिएको छैन ।”

उहाँका अनुसार नगरपालिकाको भवन विभाग, इन्जिनियर, पशुपन्छी मन्त्रालय सबैले भँगेराको पारिस्थितिक भूमिकालाई बेवास्ता गरेका छन् । सरकारी भवनहरूमा समेत चखुप्वाः नबनाइएकाले उनीहरूले नैतिक आधार गुमाएको बताउनुहुन्छ ।

बस्नेतका अनुसार राम्रो प्रचलन चाँडो फैलिनु पर्ने हो तर समाज र मिडिया दुवैले यसको गम्भीरता बुझेका छैनन् । “राम्रो कुरा कहिल्यै हाइलाइट हुँदैन, नराम्रो कुरा तुरुन्त छापिन्छ,” बस्नेतले भन्नुभयो । उहाँ मिडियालाई भन्नुहुन्छ,“देश, समाजप्रति उत्तरदायी भएर भँगेरा संरक्षण जस्ता सकारात्मक अभ्यासलाई निःशुल्क प्रचार–प्रसार गर्नुपर्छ ।”

बस्नेत भन्नुहुन्छ,“पशुपन्छी र किसान हाम्रो जीवनका दुई पाटा हुन् । भँगेराले किरा नियन्त्रण गर्छ, बाली जोगाउँछ, जैविक विविधता बलियो बनाउँछ ।” उहाँको अभियानले चन्द्रागिरि, कीर्तिपुरलगायत ठाउँमा हरेक घरमा ५०–६० भँगेराका गुँड भएका घरहरू देखिन थालेका छन् । उहाँलाई समुदायले ‘भँगेरा बाजे’ भनी सम्मानले बोलाउने चलन पनि सुरु भएको छ ।

बस्नेतले ऐतिहासिक दृष्टान्त उल्लेख गर्दै राणाकालमा ठुला दरबार बनाइए पनि ति घरहरुमा भँगेरालाई बस्न मिल्ने कुनै व्यवस्थापन नगरिएको बताउनुभयो । पुराना पुस्ताले यसबारेमा नबुझे पनि नयाँ पुस्ताले भने यस्तो पक्षको महत्त्व बुझ्नुपर्ने बस्नेतको धारणा छ ।

बस्नेतले विश्वविद्यालय, स्थानीय निकाय, इन्जिनियर र ठेकेदारलाई चराहरूका लागि उचित संरचना बनाउने विषयमा सुझाव दिनुभएको छ । उहाँले पुस्तक र कविताका माध्यमबाट अभियानलाई दस्तावेज र जनचेतनामा रूपान्तरण गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “पुरानो असल चलन पुस्तान्तरण हुनुपर्छ, नत्र हाम्रो जैविक विविधता र परम्परा हराउँछ ।”

बस्नेतले सरकार, मिडिया र समाजसँग अपिल गर्दै भन्नुभयो, “घरभँगेरा र चराचुरुङ्गी संरक्षणको प्रचार–प्रसार स्वयंसेवी रूपमा गर्नुपर्छ । यस्तो अभियानले वातावरण सुधार, जैविक विविधता र सांस्कृतिक पहिचान दुवै कायम राख्छ ।”

बस्नेत केवल भँगेरा संरक्षणमा सीमित हुनुहुन्न । ६८ सालदेखि नै उहाँ सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र समुदायबीचको अन्तरसम्बन्ध विषयमा अभियान चलाउँदै आउनुभएको छ ।

लक्ष्मीप्रसाद देवकोटाको प्रेरणाबाट उहाँले ‘मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन’ भन्ने सन्देशसहित सामाजिक सद्‌भावको पुस्तक पनि प्रकाशित गर्नुभएको छ । उहाँको उक्त किताबमा विभिन्न ठाउँमा बनाइएका चखु प्वाःसम्बन्धी विवरण, अभियानका तथ्याङ्क, पन्क्षी संरक्षणसम्बन्धी भूमिका र माधव घिमिरेको भँगेरा विषयक कविता समावेश छन् ।

त्रिभुवन विश्व विद्यालयमा सेवा आयोगको सहप्रशासकदेखि विश्व विद्यालय अनुदान आयोगको वरिष्ठ अनुगमन तथा मूल्याङ्कन अधिकृतको रुपमा पनि बस्नेतले काम गरिसक्नुभएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...