काठमाडौँ, २४ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा शर्मा गौतमले मन्त्रालयले मानसिक स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभएको छ ।
बुधबार आयोजित ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान २०८२’ नामक कार्यक्रममा बोल्दै उहाँले मन्त्रालयले मानसिक स्वास्थ्यलाई अब शीर्ष स्थानमा राखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले हामीले के गरिरहेका छौँ भने त्यसलाई यो प्राथमिकताको विषय हो भनेर स्थापित गर्यौँ । अहिले आएर कसैले पनि मानसिक स्वास्थको गहनता यसको आवश्यकता नबुझेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कोही छैन । र अन्य साझेदारी निकायमा पनि पुनः यसले प्राथमिकता स्थापित गर्ने मौका पाएको छ ।”
मन्त्री गौतमले मानसिक स्वास्थ्यका नीति तथा रणनीतिहरू विगतदेखि नै रहे पनि त्यसको कार्यान्वयन गति अत्यन्तै सुस्त र स्रोत सीमित रहेकाले अब यसलाई प्रमुख एजेन्डाका रूपमा अघि बढाइएको बताउनुभयो ।
“हामीले मानसिक स्वास्थको क्षेत्रमा गरेका कामहरु भन्छु है, हामीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका विभिन्न कार्यक्रमहरुमा मानसिक स्वास्थका नीति र रणनीतिहरु, कार्यक्रमहरु नभएका हैनन् । तर, तिनीहरुको गति एकदम सुस्त र त्यसको लागि स्रोतहरु एकदमै कम भइरहेको अवस्था छ,” उहाँले भन्नुभयो ।
उहाँले मानसिक स्वास्थ्यसम्बन्धी सरकारी नीतिहरू पर्याप्त र प्रभावकारी भए पनि ती नीतिको प्रचार–प्रसार कमजोर रहेको बताउनुभयो । साथै, उहाँले यसका लागि हाल विविध पहलहरू अघि बढाइएका र मनोसामाजिक परामर्श उपलब्ध गराउन हटलाइन सेवा सञ्चालनदेखि अन्य सहयोगात्मक कार्यक्रमहरूमा समेत सम्बन्धित टोली सक्रिय रूपमा सहभागी भइरहेको जानकारी दिनुभयो ।
“हाम्रा नीतिहरु राम्रा थिए तर त्यसको प्रचारका कुरा राखेका थिएन । हाम्रा साथीहरुले त्यसको प्रचारका लागि मनोसामाजिक परामर्श दिनका लागि हटलाइनलाई सूचारु गर्नेदेखि अन्य कामहरुमा लागिरहनुभएको छ,” उहाँले भन्नुभयो ।