काठमाडौँ, २४ मङ्सिर । लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताउनुभएको छ ।
मङ्गलबार लैङ्गिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उहाँले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरि थकाई मार्दै सुरक्षित स्थानमा बसी सामाजिक सञ्जाल हेर्नुहुन्छ अनी एकाएक शरीर काँप्न थाल्छ, मुटु फुट्लाजस्तो हुन्छ । घरमा सबैबाट सुरक्षित रहेर पनि तपाई आफूले आफूलाई यति धेरै असुरक्षित महसुस गर्नुहुन्छ कि त्यो संसार तपाईंका लागि सुरक्षित लाग्दैन ।”
उहाँका अनुसार यस्तो अवस्थाले महिला, किशोरी, परिवारका सदस्य तथा डिजिटल प्लेटफर्म प्रयोग गर्ने जो–कोहीलाई प्रभावित पार्दै गएको छ । “तपाईं भनेको मेरी आमा, मेरी श्रीमती, दिदीबहिनी वा साथी जो–कोही हुन सक्नुहुन्छ । म डिजिटल हिंसाको कुरा गरिरहेको छु,” उहाँले थप्नुभयो ।
उहाँले डिजिटल हिंसाका कारण मानिसहरूमा मानसिक तनाव बढ्दै गएको, आत्महत्याका दरमा समेत वृद्धि देखिन थालेको तथा केवल भौतिक सुरक्षा अब पर्याप्त नहुने स्थिति आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “डिजिटल हिंसाको प्रवृति परिवर्तन भयो । आज आत्महत्याको दर बढिरहेको छ । आज मान्छे किन असुरक्षित महसुस गरिरहेको छ भन्दा उसलाई भौतिक सुरक्षाले मात्र सुरक्षा दिने रहेन छ । त्यसैले हामीले डिजिटल हिंसाको बहस सुरु गर्नुपर्यो ।”
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यसको सदुपयोग, दुरुपयोग र व्यवस्थापनका पक्षबारे व्यवस्थित शिक्षा आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । “अब सामाजिक सञ्जाल चलाउन मात्र जानेर हुँदैन, यसको उपयोग, सदुपयोग कसरी गर्ने र व्यक्तिगत सुरक्षाका उपायहरू के–के हुन्, यसको व्यवस्थापन कसरी गर्ने भन्ने पनि जान्नुपर्छ,” उहाँले भन्नुभयो ।