शारीरिक रूपमा अशक्त दानबहादुर आत्मनिर्भर बन्दै

4

दोधारा चाँदनी, २९ कात्तिक । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का दानबहादुर सुनार शारीरिक रूपमा अशक्त हुनुहुन्छ । दानबहादुर जन्मिने बेला अरु जस्तै सामान्य हुनुहुन्थ्यो । चार वर्षको उमेरमा उहाँ बिरामी हुनुभयो । त्यसपछि विस्तारै शरीर सुक्दै गएपछि अहिले पूर्ण रूपमा अशक्त हुनुहुन्छ । उहाँलाई शरीरले साथ नदिए पनि मन र सीप असाध्यै सबल छ । हिँड्डुलसमेत गर्न नसक्ने अवस्थामा रहनुभएका दानबहादुरले हार मान्नु भएन ।

उपचारका लागि परिवारले सकेको प्रयास गरेका बताउँदै दानबहादुरले अस्पताल धाउँदा धाउँदै पनि कमजोर आर्थिक अवस्थाका कारण समयमा रोग निदान हुन नसकेको उल्लेख गर्नुभयो । अहिले उहाँले सरकारबाट सामाजिक सुरक्षा भत्ता पनि पाउनुहुन्छ । उहाँले हिम्मतका साथ आफूमा भएको क्षमतालाई सदुपयोग गर्दै निरन्तर कर्ममा लागेपछि अहिले परिवारका लागि आर्थिक सहारा बन्नुभएको छ ।

“घरमा ल्याएको रेडियो बिग्रियो त्यो रेडियोबाट उसले मर्मत गर्न सिकेको हो”, दानबहादुरकी आमा उषा सुनारले भन्नुभयो, “त्यसै रेडियोबाट सिकेर अहिले मोबाइलको डिस्प्ले फेर्ने, रेडियो, टर्च र बुफरहरू मर्मतको काम गर्छ ।” दानबहादुरले पछिल्लो समय अरुलाई हाउस वायरिङ गर्ने काम सिकाउन थालेको उहाँको भनाइ छ ।

सरकारबाट पाउने सामाजिक सुरक्षा भत्ता दानबहादुरको जीविकोपार्जन प्रमुख स्रोत हो । “भत्ता मात्रै जीवन चलाउन पर्याप्त नभएपछि उहाँलाई आफ्नो क्षमता देखाउने आत्मबल बढ्दै गयो । शरीरले गर्न नसक्ने काम धेरै थिए, तर हात–आँखाका बलमा गर्न सकिने साना सीपले उसलाई आर्थिक सहारा दिन सहयोग पुगेको हो”, आमाले भन्नुभयो ।

“अरुको सहयोगमा रेडियो, मोबाइल टर्चलगायत सामग्री मर्मत म आफैँ गर्छु, हाउस वायरिङका लागि अरु साथीभाइलाई सिकाउने गरेको छु”, दानबहादुरले भन्नुभयो, “गाउँको व्यवसाय हो । कोही पैसा दिएर जान्छन् कोही त्यतिकै मर्मत गराउँछन् । तर, थोरै भए पनि आम्दानीको स्रोत बनेको छ ।” उहाँले परिवारको आर्थिक अभावका कारण आफ्नो सीपलाई व्यवसायिक बनाउन नसकेको बताउनुभयो ।

“थोरै आम्दानी भए पनि परिवारलाई सहयोग पुगेको छ”, सुनारले भन्नुभयो, “अरुलाई पनि आत्मनिर्भर बन्नका लागि हाउस वायरिङ र मर्मत गर्न सिकाउने गरेको छु ।” पौरख गर्न पाखुरामा दम मात्रै होइन, हातखुट्टा सध्य चाहिन्छ उहाँले भन्नुभयो । पूर्ण रूपमा अशक्त दानबहादुर अहिले दोधाराका थुप्रै युवाको गुरुमात्रै होइन, प्रेरणाको स्रोत बन्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...