काठमाडौँ, २९ असोज । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।
महरा विद्युतीय चुरोट (भेप)मार्फत् सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।
यही असोज २७ गते महराविरुद्ध मुद्दा दर्ता गरिएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख रामहरि काफ्लेका अनुसार महराविरुद्ध आठ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र तीन वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ ।
पूर्वसभामुख महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो ।