तीन महिनापछि चितवन मिल्क उद्योगमा दुध प्रशोधन

15

चितवन, २८ असोज । दुधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दुध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द रहेको उद्योगमा अहिले दुध आउन थालेपछि सञ्चालन ल्याइएको हो ।

उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार गत असारमा दुई दिन मात्रै सञ्चालनमा आएर बन्द भएको उक्त उद्योग असोज पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो । अहिले दैनिक एक लाख लिटरसम्म दुध आउन थालेको छ । उहाँले भन्नुभयो, “सालाखाला ८० हजार लिटर दुध दैनिक आउन थालेको छ ।”

प्रशोधनका लागि डेरी र सहकारीहरुले दुध नल्याएपछि उद्योग आफैँले दुध किनेर सञ्चालन गर्ने तयारीसमेत गरेको थियो । सो समयमा सबैतिर दुधको अभाव भएपछि उद्योग सञ्चालन हुन सकेको थिएन । दसैँ बिदाको समयबाहेक यो महिना लागेपछि नियमितजस्तो उद्योग सञ्चालनमा रहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । किसानबाट सङ्कलित दुध बिक्री नभएपछि डेरी र सहकारीहरुले यहाँ ल्याएर प्रशोधन गर्ने गर्दछन् । उद्योगले धुलो (पाउडर) दुध र नौनी (बटर) उत्पादन गर्ने गर्दछ ।

चितवन, मकवानपुर, नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट दुध आउन थालेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । गत वर्ष बिक्री नभएपछि डेरी र सहकारीले यहाँ थन्काएका नौनी, घ्यू र धुलो दुध लगिसकेका छन् । प्रशोधन गरिएका उत्पादन सम्बन्धित संस्थाले नलगेपछि उद्योगका सबै ठाउँ नौनी र पाउडर दुधले भरिएको थियो ।

भरतपुर महानगरपालिका–१ ठिमुरामा उद्योग रहेको छ । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दुध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दुधको ११३ र घ्यू (बटर)को प्रतिकिलो ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना भएको सो उद्योग २०७२ सालमा आएको भूकम्पसँगै बन्द भएको थियो । बन्द हुनुअघि उद्योग आफैँले दुध खरिद गरेर प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...