कोशी ब्यारेजका ५६ ओटै ढोका खोलियो

35

सुनसरी, १९ असोज । गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जल बहाव बढेको छ । जल बहाव उच्च भएपछि कोशी ब्यारेजमा सबै ५६ ढोका खोलिएका छन् ।

सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको बहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताउनुभयो । उहाँका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।

आज बिहान ८ः१५ बजे गरिएको जल सतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड तीन लाख ३५ हजार ६० क्युसेक पुगेपछि ५० ढोका खोलिएको थियो ।

उहाँले भन्नुभयो, “पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केतस्वरुप रातो बत्ती बालिएको छ भने रातो झण्डा फहराइएका छन् ।” सप्तकोशी जलमापन कन्ट्रोल रुमले जलसतह जोखिम बिन्दुभन्दा माथि पुगेको जानकारी दिएको छ ।

बाढीले उदयपुर र सुनसरीका केही क्षेत्रमा जोखिम हुने हुँदा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी मिश्रले आग्रह गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...