काठमाडौँ, १८ असोज । जेन–जी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ आज (शनिबार) त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुग्नुभएको छ ।
श्रेष्ठले उपचाररत घाइतेहरूसँग भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । उहाँले अस्पतालका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाप्रति आभार व्यक्त गर्दै घाइतेहरूको अवस्थामामा क्रमिक सुधार भइरहेको जानकारी पाएको बताउनुभयो ।
अस्पतालका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन् भने ५ जना विभिन्न वार्डमा उपचाररत छन् ।
पूर्वगृहमन्त्री श्रेष्ठले घाइतेहरूको सौर्यमय संघर्ष खेर जान नदिइ उपलब्धिमूलक बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।