काठमाडौँ, १८ असोज । देशभर मनसुन सक्रिए भएसँगै वर्षातका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले सबै सवारी चालकहरूलाई अत्यधिक सावधानी अपनाउन माइकिङसहित आग्रह गर्न थालेको छ ।
आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।
वर्षात्का बेला सडक चिप्लो हुने, दृश्यता कम हुने र पहिरो तथा बाढीको जोखिमसमेत उच्च हुने भएकाले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह सहित माइकिङ गर्न थालिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी बताउनुभयो ।
उहाँले भन्नुभयो, “हालैको मौसम पूर्वानुमानअनुसार तीन दिनसम्म मनसुन सक्रिय रहने देखिएकाले यस्तो समय सवारी सञ्चालनमा जोखिम रहन्छ । त्यसैले चालकहरूलाई सचेत गराउनका लागि उपत्यकाका प्रमुख नाका तथा व्यस्त स्थानहरूमा माइकिङ सुरु गरेका छौँ ।”
विशेषगरी उपत्यकाबाट बाहिरिने प्रमुख नाका नागढुङ्गा, साँगा, थानकोट, बालाजु, सातदोबाटो लगायतका स्थानहरूमा ट्राफिक प्रहरी परिचालित गरी गएरातिदेखि चालकहरूलाई मौखिक सूचना, माइकिङ गर्न थालिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
नागढुङ्गाबाट बाहिरिने लामो दूरीका सवारी चालकहरूलाई राति र पानी परेको समयमा एक्लै यात्रा नगर्न, सकेसम्म समूहमा यात्रा गर्न र नियमित रूपमा सवारी साधनको प्राविधिक परीक्षण (ब्रेक, टायर, लाइट आदि) गराउन समेत आग्रहसहित माइकिङ गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “विशेषगरी पहाडी तथा पहिरोको जोखिम भएका मार्गहरू जसमा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग, बिपी राजमार्ग, अरनिको राजमार्गलगायत पर्छन्, त्यहाँ जोखिम अझ बढी हुन्छ । त्यसैले त्यस्ता क्षेत्रतर्फ जाँदा झनै सतर्क रहनु आवश्यक छ ।”
वर्षात्का समयमा पहिरो, सडक कटान र सडकमा ढल्किने पानीका कारण सडक अवरुद्ध हुने, सवारी साधन बिग्रने वा दुर्घटना हुने सम्भावना बढी हुने भएकाले ट्राफिक प्रहरीले विगत वर्षहरूमा देखिएका समस्याबाट पाठ सिक्दै यसपालि सुरुवातदेखि नै सतर्कता अपनाएको जनाएको छ ।
ट्राफिक प्रहरीले हाल देशभरका मुख्य सडक र राजमार्गहरूमा नियमित गस्ती, ट्राफिक पोस्टमार्फत् सूचनाको आदानप्रदान तथा विपद्को स्थिति आउँदा तत्काल सूचना प्रवाह र उद्धार कार्यका लागि तयारी अवस्थामा ट्राफिक टोलीलाई राखेको जनाइएको छ ।
सडक प्रयोगकर्ताहरूसम्म यथासमय सूचना पुगोस् भनेर ट्राफिक प्रहरीले सामाजिक सञ्जालहरू, जस्तै फेसबुक, एक्स र विभागीय वेबसाइटमार्फत मौसम अपडेट, सडक स्थिति, तथा आकस्मिक सडक बन्दसम्बन्धी जानकारीहरू प्रकाशित गर्दै आइरहेको छ ।
देशभरका सडकहरूमा बढ्दो ट्राफिक चाप, अपायक मौसम, र कमजोर भौतिक पूर्वाधारका कारण दुर्घटनाको जोखिम स्वाभाविक रूपमा बढ्ने भएकाले यस्तो समयमा सवारी चालक, यात्री तथा सरोकारवालाबीच आपसी समन्वय र सचेतना अत्यावश्यक हुने उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवम् प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सावधानी अपनाऔँ, दुर्घटनाबाट बचौँ’ भन्ने नारालाई व्यवहारमा उतार्दै सुरक्षित यात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता आजको दिनमा झनै बलियो रूपमा महसुस गरिएको छ । सोही अनुसार ट्राफिक प्रहरी सक्रिय रूपमा सडकमा खटिएको छ ।”