काठमाडौँ, १७ असोज । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेशप्रसाद चौलागाईंले सहिद परिवारलाई संगठित हुन आह्वान गर्नुभएको छ । उहाँले नेपाल न्यूज बैंकसँग कुरा गर्दै सहिद परिवारका सबै सदस्यहरूलाई एकजुट भइ साझा आवाज उठाउन आग्रह गर्नुभएको हो ।
“अब हामी सहिद परिवारका सबै सदस्यहरू एक ठाउँमा जम्मा हुनुपर्छ,” चौलागाईंले भन्नुभयो, “हामीले सबैको पीडा सुनौँ, छलफल गरौँ र एउटा समिति गठन गरौँ । कोही सक्षम व्यक्ति छन् भने नेतृत्व गरौँ, तर न त जेनजीको पछि लागौँ, न सरकारको ।”
उहाँका अनुसार अबको आन्दोलन वा मागहरूको नेतृत्व सहिद परिवार आफैँले सम्हाल्नुपर्छ । “हामी आफैँले तय गरौँ कि हाम्रो माग के हो, त्यसपछि सिंहदरबार जाऔँ, मन्त्रीहरूलाई भेटौँ, अनि हाम्रो आवाज राखौँ । सरकारले नसुने सिंहदरबार अगाडि धर्ना बस्न तयार हौँ,” उहाँले भन्नुभयो ।
चौलागाईंले अहिलेको सरकारलाई अघिल्ला सरकारहरूसँग तुलना गर्दै भन्नुभयो, “सरकारले सहिदको आवाज सुन्दैन अन्तरिम सरकार पनि पहिलेको जस्तै हो ।”
उहाँले जेनजी आन्दोलनको नेतृत्वसम्बन्धी अन्योल हटाउन पनि आग्रह गर्नुभयो । “पहिलो नम्बरमा स्पष्ट हुनुपर्छ, जेनजीको आधिकारिक नेतृत्व को हो ? त्यो जेनजीले नै स्पष्ट पार्नुपर्छ,” चौलागाईंले भन्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, “अब देश बनाउने काम सबै मिलेर गरौँ । युवाहरूले रोजगार पाउनुपर्छ । तर, सरकारको पहिलो प्राथमिकता सहिद परिवार हुनुपर्छ । जसको रगत बग्यो, पहिला उनीहरूलाई खुसी बनाउनु सरकारको कर्तव्य हो ।”
चौलागाईंले भोलि असोज १८ गते, शनिबार बिहान १० बजे सहिद परिवारका तर्फबाट सिंहदरबार जाने कार्यक्रम रहेको जानकारी पनि दिनुभयो । साथै सबै सहिद परिवारका प्रतिनिधिहरुलाई पनि सिंहदरबार अगाडि भेला हुन आग्रह गर्नुभएको छ ।