खाँदबारी, १७ असोज । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा शिक्षकमाथि खुकुरी प्रहार भएको छ । सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्याललयका शिक्षक राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो ।
मादकपदार्थ सेवन गरेर जीवनज्योति माविका शिक्षक राईमाथि खुकुरी प्रहार भएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । शिक्षकमाथि मादकपदार्थ सेवन गरेका फुपूका छोरा सुरेन्द्र राई र एक नाबालकले खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।
गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो ।
घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । खुकुरी प्रहार गर्ने सुरेन्द्र र अमिरलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल सदरमुकमा खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।