काठमाडौँ, ११ असोज । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।
आज एक विज्ञप्ति जारीगरी मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न आग्रह गरेको हो ।
“नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ”, विज्ञप्तिमा भनिएको छ, “यस अवस्थामा सभा, सम्मेलन, बैठक एवम् विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढङ्गबाट अन्य पक्षलाई असर नपर्ने एवम् उक्साहट नहुनेगरी गर्नु भई समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्नुहुन सबैमा अनुरोध गरिन्छ ।”