जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाका कुलुङको अन्त्येष्टि

22

खाँदबारी, १ असोज । जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएका सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–३ का २१ वर्षीय प्रवीन कुलुङको अन्त्येष्टि गरिएको छ ।

काठमाडौँमा भएको प्रदर्शनका क्रममा कुलुको गोली लागेर मृत्यु भएको थियो । उहाँको आज दिउँसो सिलिचोङ–३ स्थित लकुवामा अन्त्येष्टि गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगरबाट कुलुङको शव आज बिहान सिलिचोङ ल्याइएको थियो । प्रतिकूल मौसमका कारण कुलुङको शव मङ्गलबार ल्याउन नसकिएपछि विराटनगरमै राखिएको थियो ।

कुलुङको सिलिचोङ–३ स्थित लकुवामा संस्कारअनुसार अन्त्येष्टि गरिएको सो गाउँपालिकाका अध्यक्ष भुपालराज मेवाहाङले बताउनुभयो । अन्त्येष्टि अघि सिलिचोङ गाउँपालिका केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा गाउँपालिका अध्यक्ष मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गर्नुभएको थियो ।

त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो । कुलुङ स्थानीय सगरमाथा माध्यमिक विद्यालयमा १० कक्षा उत्तीर्ण गरे केही वर्षदेखि काठमाडौँमा बस्दै आउनुभएको थियो । उहाँले काठमाडौँमा वैदेशिक रोजगारीमा जानका लागि कोरियन भाषा पढ्दै हुनुहुन्थ्यो ।

Share This:
सम्बन्धित खबर
Loading...