विराटनगर, ११ भदौ । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–२ स्थित रहेको ईवा खोलामा अचानक आएको बाढीको कारण खोलाको बीच भागमा फसेका ४ जना व्यक्तिलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
भदौ १० गते साँझ पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङ सिदिङवा गाउँपालिकाको सिमानामा रहेको ईवा खोलामा पाहा मार्न गएका स्थानीय फिदिम नगरपालिका–४ का १९ वर्षीय प्रतीक तामाङ, २३ वर्षीय झल्ला सम्बाहाम्फे, २८ वर्षीय शेर बहादुर मगर र ताप्लेजुङ सिदिङवाका २२ वर्षीय सन्तोष पन्धाक अचानक आएको बाढी कारण खोलाको बीच भागमा रहेको बगरमा फसेका थिए ।
घटनाको जानकारी प्राप्त हुनसाथ तत्काल प्रहरी चौकी फलैचा, इलाका प्रहरी कार्यालय च्याङथापु र अमरपुरबाट खटिएको प्रहरी टोलीले पानी परिरहेको र खोलामा भेल बाढी आइरहेको कारण उद्धार गर्न कठिनाइ भएकँले उनीहरुलाई राति खानका लागि चाउचाउ र लाइटरलाई ढुंगामा पोको पारेर फाली उपलब्ध गराएका थिए ।
रातभरि ठुलो ढुङ्गाको ओतमा आगो तापी बसेका उनीहरुलाई ११ गते बिहान खोलामा बाँसको पुल बनाइ स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।