- आकांक्षा धामी
काठमाडौँ, १० भदौ । तिजको रौनक आउनासाथ युट्युबमा नयाँ–नयाँ गीतहरूको बाढी आउँछ । कतिपय गीतहरू ट्रेन्डिङको शिखर चुम्छन्, केही त जनजीवनमा गुञ्जिन्छन् पनि । तर, अधिकांश तीज गीतहरू समयको भेलसँगै हराउँछन् । तर, एउटा गीत छ जुन वर्षौँदेखि, पुस्तौँदेखि तीजमा गुञ्जिरहन्छ, ‘तिजको रहर आयो बरी लै’।
चालिसको दशकमा रिलिज भएको नेपाली चलचित्र कन्यादानको यो गीत आज पनि तिजको पर्याय बनिसकेको छ । चाहे सहर होस् या गाउँ, रेडियो होस् या युट्युब- यो गीत बिना तिज अधुरो लाग्छ ।
२०७० सालतिर, गायिका मञ्जु थापाले यो सदाबहार गीतलाई नयाँ स्वादमा ल्याउने सपना देखिन् र त्यहीँ सपना बन्यो उहाँको तिज रिमेकको यात्रा सुरु गर्ने प्रेरणा ।
‘तिज गीत त पहिलेदेखि गाइरहेकी थिएँ,’ मञ्जु थापा भन्नुहुन्छ, ‘तर, सबैतिर रिमेकको हल्ला थियो । रिमेक गर्ने जमाना आयो भनेजस्तो लाग्थ्यो । हामी साथीहरूसँग कार्यक्रमको तयारी गर्दै थियौँ । त्यही बेलामा यो ‘तिजको रहर’ रिमेक गर्न पाए कस्तो हुन्थ्यो भन्ने सोच आयो ।’
तर, सोचेजस्तो सजिलो थिएन । पुरानो गीतलाई रिमेक गर्न कानुनी प्रक्रिया र नैतिक जिम्मेवारी दुबै थियो । ‘यो त कन्यादान चलचित्रको गीत हो नि त ’ उहाँले सम्झिनुभयो । अनि सुरू भयो सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क गर्ने दौड ।
मञ्जु थापाले रिसर्च गर्न थालिन्, यो गीतको रचनाकार, संगीतकार को अनि अधिकार कसको हो ? ‘त्यो बेलामा थाहा भयो, रचना चेतन कार्की सरको, संगीत मनोहर सिंह सरको, र प्रोड्युसर बिनोद सेरचन दाई हुनुहुँदो रहेछ,’ उहाँले भन्नुभयो ।
उहाँले सबैसँग व्यक्तिगत रूपमा भेटिन् । अनुमतिका लागि आग्रह गरिन् र सबैले न्यानो साथ दिए । ‘मैले जे होस् सबैलाई भेटेँ, आशिर्वाद मागेँ । उहाँहरूले भने‘- हुन्छ नानी, राम्रोसँग गर ।’
त्यसपछिको यात्रा सरल भएन तर प्रेरणादायी थियो । मञ्जु थापाले गीतलाई नयाँ ढंगले, नयाँ संगीत संयोजनसहित प्रस्तुत गरिन् । सन्देश पुरानै, मिठास झनै बढेको । गीत बजारमा आयो-र, मन जित्यो । पुरानो पुस्ताले सम्झियो अतित, नयाँ पुस्ताले गुनगुनायो नयाँ ढंगमा ।
चालिसको दशकमा सार्वजनिक भएको यस गीतले नेपाली तिजको सांगीतिक माहोलमा गहिरो छाप बनाएको छ । आधुनिकता र पाश्चात्य प्रभावबीच हराउँदै गएका मौलिक तीज गीतहरूको भीडमा यो गीत आज पनि उत्तिकै सानसँग बजिरहेको छ ।
‘जब मैले रिमेक गरेँ नि, त्यसपछि चाहिँ एकदमै बज्न थाल्यो,’ मञ्जु थापा भन्नुहुन्छ, ‘यो रिमेकको जुन भिजुअल कन्सेप्ट हो, त्यो चाहिँ संगीत सम्राट समृद्ध सरको हो । हामीले अलिकति फास्ट बिटमा र भिजुअलसहित प्रस्तुत गर्यौँ, जसले गर्दा अझ बढी जनप्रिय भयो ।’
गीतले सफलता पाएपछि आफूलाई अझ ऊर्जा थपिएको बताउने थापा भन्नुहुन्छ, ‘देश–विदेशका नेपालीले हरेक वर्ष बजाउँदा एकदम खुसी लाग्छ । गीत मौलिक छ, भावनात्मक छ । बाबा, आमा, माइती, दिदीबहिनीको सम्झना गर्ने गीत हो । त्यही मौलिकताका कारणले यो गीत हरेक वर्ष बज्छ ।’
उहाँले यस गीतपछि पनि दर्जनौँ तीज गीतहरू बजारमा ल्याइसकेकी छन्-‘यो तिजमा नजाने माइती’, ‘ढकनी र कुराउनी, खाउली राती दरैमा’, ‘हर हर महादेव’, ‘ए आमा तिमीलाई आउँदैछु भेट्न यसपाली तीजैमा’ जस्ता गीतहरूले पनि दर्शक–स्रोतामाझ राम्रो स्थान बनाएका छन् ।
मञ्जु थापा तिजको बदलिादो स्वरूपप्रति पनि चिन्तित हुनुहुन्छ । ‘पहिलाको तीज मौलिक हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘शब्दमा गहिरो भाव, लयमा मधुरता, संस्कृति र परम्पराको सुगन्ध हुन्थ्यो । अहिले तीज एक महिनाअगाडि नै सुरु हुन्छ । पार्टी प्यालेसहरूमा कार्यक्रम, गीतमा द्विअर्थी शब्द, भिजुअलमा अश्लीलता- यी सबै मौलिक तिजको विपरीत लाग्छ ।’
उहाँले थप्नुभयो, ‘पहिला–पहिलाको तिजमा चेलीबेटी माइती घर फर्किने, बाबा, दाजुभाइ चेली लिन आउने संस्कार हुन्थ्यो । त्यो आत्मीयता अहिले कम हुँदै गएको देखिन्छ ।’
यद्यपि, उहाँ सकारात्मक परिवर्तनको पक्षमा पनि हुनुहुन्छ । ‘समय अनुसार परिवर्तन त भइ नै रहन्छ,’उहाँ भन्नुहुन्छ, ‘तर परिवर्तन मौलिकताको हानी गरेर होइन, मौलिकता जोगाएर हुनुपर्छ ।’
मञ्जु थापा तिज गीतहरूमा मात्र सीमित छैनन् । उहाँले दर्जनौँ गीतहरू गाइसक्नुभएका् छ र आफ्ना गीतमार्फत नेपाली लोकसंस्कृति जोगाउने प्रयासमा लागिरहनुभएको छ ।
‘रमाइलो लाग्छ, बाटोमा हिँड्दा आफ्नो गीत बजेको सुन्दा इनर्जेटिक महसुस गर्छु । अझै गीतहरू गर्न मन लाग्छ,’ उहाँ भन्नुहुन्छ ।
साँच्चिकै, ‘तिजको रहर आयो बरी लै’ गीत नेपाली तीज पर्वको आत्मा बनेको छ । मौलिकता, भावनात्मक गहिराइ र सांगीतिक मिठासले भरिएको यो गीतले तीजको सांगीतिक पहिचान जोगाइरहेको छ- हरेक वर्ष, हरेक पुस्तासँग । -नेपाल न्यूज बैंक