मधेस प्रदेशका खानेपानी समाधानका लागि साझा जिम्मेवारी आवश्यक : मन्त्री यादव

27

पर्सा, ९ साउन । खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताउनुभएको छ ।

आज पर्सास्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको “निर्मल बस्ती खानेपानी आयोजना” उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेसका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताउनुभयो ।

“तराई–मधेशका जिल्लाहरूमा खानेपानीको गम्भीर सङ्कट उत्पन्न भएको छ । अब सहानुभूति हैन, साझा जिम्मेवारी आवश्यक छ,” उहाँले भन्नुभयो, “खानेपानी सङ्कट मधेस प्रदेशको मात्रै समस्या हैन, यो हाम्रो साझा चुनौती हो । सङ्कट समाधानका लागि सबैले हातेमालो गर्ने बेला आएको छ ।”

त्यसैगरी मन्त्री यादवले तराई–मधेशमा विकराल समयमा पनि आफूसहित सिङ्गो मन्त्रालय नागरिकका मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न अहोरात्र खटिएको जानकारी गराउनुभयो ।

“विपद्को यस घडिमा हामी नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न खटिएका छौँ । यहाँको खानेपानी समस्या चाँडै समाधान गरिने म आम नागरिकहरुमा विश्वास दिलाउन चाहन्छु,” उहाँले भन्नुभयो ।

मन्त्री यादवले आफुले नेतृत्व गरेको खानेपानी मन्त्रालयको विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्‌बाट मधेस प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सङ्कटलाई केवल सहानुभूतिका रूपमा होइन, साझा जिम्मेवारीका रूपमा हेर्ने र समाधानका लागि हातेमालो गर्ने बेला आएको छ । दातृ निकाय, संघसंस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न म हार्दिक आग्रह गर्दछु ।”

मन्त्री यादवले ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना ठोरी क्षेत्रको दीर्घकालीन खानेपानीको सङ्कट अन्त्यका लागि मन्त्रालयले दिगो र रणनीतिक समाधानतर्फ गरेको प्रयासको प्रतिबद्धताको मूल प्रतिविम्ब भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजना केवल पाइपलाइन, पम्प हाउस वा ट्याङ्कीको संरचना निर्माण मात्रै होइन, नागरिकलाई नियमित, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति गर्ने आयोजना हो ।”

यस आयोजना मार्फत ठोरीका कम्तिमा पनि दुई हजार १६५ जनसङ्ख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ओभरहेड ट्याङ्की, डिप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट)लगायतका संरचना निर्माण गरिएकाले यहाँका नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

आजको उक्त कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेज अहमद, आयोजना प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...