काठमाडौँ, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्षमा २०८१/८२ मा निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/८२ मा नेपालले दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख रूपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।
आफू प्रधानमन्त्री हुनुअघि अघिल्लो वर्ष नेपालको कुल निर्यात एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाख मात्र रहेको उहाँले उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ । दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाखको निर्यात गर्न हामी सफल भएका छौँ । हामी सरकारमा आउनुभन्दा अगाडि अघिल्लो वर्ष एक खर्ब ५२ अर्ब ३८ करोड १२ लाखको निर्यात भएको थियो । गत वर्षको तुलनामा ८१ दशमलव ८० प्रतिशत निर्यात बढेको छ ।”