- प्रमिला कार्की
काठमाडौँ, ७ साउन । नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । देशको कुल जनसंख्याको करिब २० प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन् । यसरी हेर्दा नेपालमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक छ ।
मानसिक समस्याहरू बढ्दै जाँदा आत्महत्याको जोखिम पनि बढदै गएको तर यस्तो संवेदनशील विषय राज्यको प्राथमिकतामा पर्न नसक्नु दुःखद् रहेको नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक एवम् अमेरिकामा कार्यरत मानसिक रोग विशेषज्ञ डा.श्रीधर पौडेल बताउनुहुन्छ ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले नेपालमा ८० देखि ८५ प्रतिशत मानिसहरु अझै पनि मानसिक स्वास्थ्य उपचारको पहुँचमा नरहेको बताउँदै प्रभावकारी उपचार पद्धति समेत नरहेको बताउनुभयो । साथै, उहाँले राज्यले अन्य एजेण्डालाई मुख्य बनाएर मानसिक स्वास्थ्य समस्यालाई ओझेलमा पारेको गुनासो समेत गर्नुभयो ।
उहाँले भन्नुभयो,‘जसलाई मानसिक स्वास्थ्य समस्या भएर उपचार गर्न खोजिरहेको छ उसले राम्रो उपचार पाएको छैन । एकसय जनामा १५ देखि २० प्रतिशत मान्छेले मात्र उपचार पाउँछन् । अरू ८० देखि ८५ प्रतिशत मानिसहरुको पहुँच नै छैन । काठमाडौँबाट बाहिर छँदै छैन । धेरै जिल्लाहरुमा मानसिक समस्या विकराल छ । तर, त्यसको उपचार पद्धति छैन । राज्य प्रणालीले त्यहाँसम्म सोच्न सकेको छैन । मानसिक स्वास्थ्य सरकारको एजेण्डामा परेको छैन । अरु एजेण्डालाई मुख्य बनाएर यसलाई ओझेलमा पारिएको हो कि जस्तो देखिन्छ ।’
त्यस्तै, उहाँले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तिको अभाव रहेको कारण पनि मानसिक स्वास्थ्य सेवाको अवस्था विकराल रहेको धारणा राख्नुभयो ।
‘चाहिने जति जनशक्ति छैन । साइकोलोजिष्टहरुले परामर्श त दिनु हुन्छ तर पनि क्लिनिकल साइकोलोजीमा पिएचडी वा एमफिल गरेको कम हुनुहुन्छ । मास्टर्स गरेका क्लिनिकल साइकोलोजिस्टहरु अलिकति बढी हुनुहुन्छ । तर, सरकारले त्यसमा केही योजना बनाउन भ्याएकै छैन । यस्ता धेरै कारणले गर्दा मानसिक स्वास्थ्य सेवाको अवस्था विकराल छ,’ उहाँले भन्नुभयो ।
अमेरिकाको हार्बर्ड मेडिकल स्कुलमा साइकियाट्री विषयका सहायक प्राध्यापकको रुपमा कार्यरत डा.पौडेलका अनुसार मानसिक रोग लागेका मानिसहरुको औसत आयु नलागेको मानिसको भन्दा १० देखि १५ वर्ष कम हुने गर्दछ ।
सामान्य मानिसको औसत आयु ७६ वर्ष हुँदा गहन खालको मानसिक स्वास्थ्य समस्या (स्किजफ्रेनिया) भएका मानिसहरुको औसत आयु २० वर्ष कम हुन्छ । यसरी मानसिक रोग लागेका धेरै जसो मानिसहरुमा क्यान्सरको जोखिम पनि उच्च हुने उहाँले जानकारी गराउनुभयो ।
‘नेपालका २० देखि २५ प्रतिशत मानिसहरुको जीवनकालमा मानसिक रोगका कुनै न कुनै लक्षण देखिन्छन् । त्यसमध्ये कति जना मानिसलाई हामीले उपचार सेवा दिइरहेका छौँ, त्यसलाई अध्ययन गर्दा त्यो एकदमै कम छ,’ उहाँले भन्नुभयो,‘मानसिक रोग लागेको मान्छेहरुको औसत आयु नलागेको मानिसको भन्दा १० देखि १५ वर्ष कम हुन्छ । तर, गहन खालको मानसिक स्वास्थ्य समस्या जस्तै स्किजफ्रेनिया भएका मान्छेहरुको औसत आयु सामान्य मान्छेको औसत आयु ७६ वर्ष छ भने स्किजफ्रेनिया भएको मान्छेहरुको २० वर्ष सम्म कम हुन्छ ।’
‘उच्च रक्तचाप, डाइबिटिज, स्ट्रोक भएर पनि धेरै मानिसको मृत्यु हुन्छ । किनभने मानसिक रोग लागेपछि त्यसको उपचार नगरेसम्म अन्य रोगको उपचार गर्न सकिँदैन । यसकारण पनि मानसिक स्वास्थ्य एकदमै महत्वपूर्ण हुन्छ’,उहाँ भन्नुहुन्छ ।
नेपालमा आत्महत्याबाट हरेक वर्ष ६ देखि ७ हजार मानिसको मृत्यु हुनेगर्छ । हरेक दिनमा १५ देखि २० जना मान्छेले आत्महत्या गरेको डेटाहरु छन्, यो एकदमै डरलाग्दो कुरा हो । मृत्युको उक्त आँकडा हेरेर सरकारमा बसेका मानिसले प्राथमिकताका साथ काम गर्नुपर्ने डा.पौडेलको भनाइ छ ।
‘हरेक दिन १५ देखि २० जना मानिसले आत्महत्या गरेका हुन्छन् । यो एकदमै डरलाग्दो कुरा हो । आत्महत्याबाट हरेक वर्ष ६ देखि ७ हजार मान्छे मरिरहेका हुन्छन् । यीमध्ये धेरै मानिसलाई जोगाउन सकिन्छ । उनीहरुलाई सही उपचार गरियो भने बचाउन सकिन्छ । मृत्युको यस्तो आँकडा हुँदा पनि सरकारमा बसेका कुनैपनि व्यक्तिले यसलाई प्राथमिकता नदिइ बस्न सक्छ जस्तो मलाई लाग्दैन,’ उहाँले भन्नुभयो ।
रोग अनुसार उपचार र औषधी हुने भएकाले डिप्रेशन जस्ता रोगको उपचार थोरै खर्चमा गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै, स्किजफ्रेनिया जस्तो रोगको उपचारका लागि अलि बढी खर्च हुने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार विदेशमा विद्युतीय अथवा चुम्बकीय माध्यमबाट मानसिक रोगको उपचार गर्ने पद्धति छ । तर, नेपालमा त्यस्तो उपचार पद्धति अहिलेसम्म पनि सुरु हुन सकेको छैन । मानसिक स्वास्थ्यमा लगानी गर्न नसकेको कारण नेपालमा यस्तो खाले पद्धतिको विकास हुन नसकेको उहाँको ठम्याइ छ । उहाँले सहज र सस्तो उपचारका लागि सबै नेपालीहरुलाई बीमामा आवद्ध गराउनुपर्नेमा पनि जोड दिनुभयो ।
‘नेपालको सन्दर्भमा अझैपनि धेरै मान्छे बीमामा आवद्ध भएका छैनन् । त्यसैले उपचार खर्चिलो मानिरहेका छन् । तर, विदेशको तुलनामा उपचार धेरै महँगो भने छैन । रोग अनुसार उपचार र औषधि उपलब्ध हुने भएकाले डिप्रेशन जस्ता रोगको उपचार थोरै खर्चमा गर्न सकिन्छ । स्किजफ्रेनिया जस्ता रोगको लागि अलि बढी खर्च गर्नुपर्ने हुन्छ । त्यसबाहेक विद्युतीय अथवा चुम्बकीय माध्यमबाट मानसिक रोगको उपचार गर्ने पद्धति भने अलि महँगो हुन्छ । तर, यो सबैलाई चाहिन्छ भन्ने हुँदैन । औषधि र काउन्सिलिङले काम गरेन भने मात्र त्यस्तो खालको पद्धतिको प्रयोग गर्ने हो । यस्तो पद्धति नेपालभर उपलब्ध छैन,’ उहाँले भन्नुभयो ।
नेपालमा सबैखाले मानसिक रोगको उपचार सम्भव छ । तर, सबै मानसिक रोगहरु उपचार पश्चात चट्टै ठिक हुने सम्भावना भने हुँदैन । उहाँले सबैलाई मानसिक स्वास्थ्यको पहुँचमा पुर्याउन सरकार र निजी क्षेत्रले लगानी गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कतिपय ठाउँमा मानसिक रोगको उपचार पद्धति हुँदा हुँदै पनि मानिस उपचार गर्न नजाने र यस्ता रोगीहरुलाई हेलाको दृष्टिले हेर्ने चलन अझै रहेको बताउनुभयो ।
‘यस्ता विषयमा मान्छेको गल्ती होइन, समाजको गल्ती पनि भन्न मिल्दैन । ज्ञान वा चेतनाको कमीले गर्दा हो । पहिलो कुरा मानसिक रोग लागेको छ भन्ने कुरा नै थाहा हुँदैन । थाहा भएपनि कहाँ गएर उपचार गर्ने भन्ने कुरा पनि थाहा हुँदैन । यसले गर्दा समस्या हुन्छ । गाउँ घरमा अझै पनि रुढिवादी धारणा भएका कारणले र सरकारले चेतना फैलाउन नसकेको कारणले पनि समाज पुरानै शैलीमा चलिरहेको छ,’ उहाँले भन्नुभयो ।
मानसिक स्वास्थ्यको समस्या नेपाल मात्रै नभइ संसारभर नै एकदमै गम्भीर रहेकाले राज्यले यस क्षेत्रमा थप लगानी गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो । -नेपाल न्यूज बैंक