उदयपुरका आठ पालिकामा छ अर्ब ६२ करोड बजेट

28

उदयपुर, १२ असार । उदयपुरका आठ पालिकामध्ये चार नगरपालिका र चार गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि छ अर्ब ६२ करोड बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका छन् ।

सोमबार जिल्लाका आठ वटा नै पालिकाले आव २०८२/८३ का लागि छ अर्ब ६१ करोड ८४ लाख ६४ हजार ४०० बराबरको बजेट प्रस्तुत गरेर पारित गरेका हुन् । जिल्लाका आठ पालिकामध्ये सबैभन्दा धेरै बजेट जिल्लाको त्रियुगा नगरपालिकाले ल्याएको छ भने थोरै बजेट ताप्ली गाउँपालिकाले ल्याएको छ । त्रियुगा नगरपालिकाले एक अर्ब ५३ करोड ३४ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ ।

यस्तै, चौदण्डीगढी नगरपालिकाले एक अर्ब १३ करोड ३५ लाख ४१ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।

कटारी नगरपालिकाले ८७ करोड ६५ लाख तीन हजार ४०० बराबरको बजेट ल्याएको छ भने बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बराबरको बजेट ल्याएको छ ।

चार गाउँपालिकामा उदयपुरगढी गाउँपालिकाले ६८ करोड ४० लाख पाँच हजार बराबरको बजेट ल्याएको छ भने रौतामाई गाउँपालिकाले ६६ करोड ९९ लाख ६१ हजारको बजेट ल्याएको सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

यस्तै, लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख आठ हजार बराबरको बजेट ल्याएको छ भने ताप्ली गाउँपालिकाले ४१ करोड ७३ लाख ५५ हजार बराबरको बजेट ल्याएको जनाइएको छ ।

कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा तथा आन्तरिक पर्यटन र स्थानीय युवाका लागि स्वरोजगारसहितको बजेट ल्याएको त्रियुगाका नगर प्रमुख वसन्तकुमार बस्नेत र बेलकाका प्रमुख अशोक कार्कीले बताउनुभयो ।

जिल्लाका पहाडी क्षेत्रका गाउँपालिकामा भौतिक पूर्वाधार र कृषिलाई बढी जोड दिनेगरी बजेट ल्याइएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...