मुखको स्वास्थ्यलाई ख्याल गरिएन भने शरीरमा अन्य समस्या देखा पर्छन् : ज्योति मधु [भिडिओ]

7
  • प्रमिला कार्की

काठमाडौँ, १ असार । नेपालमा विगतको भन्दा मुख वा दाँतको स्वास्थ्यबारे सचेतना वृद्धि भएको छ । तर, आम मानिसहरुमा मुखको स्वास्थ्यमा त्यति राम्रो सुधार आएको छैन । अहिले पनि धेरै मानिसहरु मुखसम्बन्धी रोगका बारेमा अपरिचित नै छन् । त्यसैले पनि एकदमै राम्रो भएको छ भनेर भन्न सकिँदैन । मुख वा दाँतको स्वास्थ्य प्राथमिकतामा नपुर्नको कारण भनेको जनचेतनाको कमी नै हो । त्यसका अलावा दाँतको उपचार अलिक महँगो नै छ । सरकारी अस्पतालमा डेन्टल सर्जनहरु उपलब्ध नै छैनन् । सरकारले फन्डिङ नै गर्न सकेको छैन ।

धेरैलाई थाहा नहुनसक्छ शरीरको अन्य समस्याका कारण मुखमा समस्या आउनसक्छ । साधारणतया खानपानमा ख्याल नराख्दा पनि मुखको समस्याहरु देखिने गर्छ । हिजोआज चाहिँ धेरैजसो समस्या हाइजिन मेनटेन गरे पनि धेरैजसोले ब्रस गर्नुहुन्छ । तर, ९५ प्रतिशत मानिसहरुलाई कसरी ब्रस गर्ने, टाइमिङ कसरी मिलाउने, ब्रस मात्र गरेर पुग्छ कि अरु पनि केही गर्नुपर्ने हो भनेर थाहा नै छैन । जसका कारण ब्रस गरिरहनुभएको छ, सफा गरिरहनुभएको छ तर दाँत सफा भइरहेको हुँदैन ।

मुख स्वास्थ्यमा धेरै किसिमका रोगहरु देखा पर्छन् । गिजासम्बन्धी रोग देखिन्छ । गिजासम्बन्धी रोगमा गिजाबाट रगत आउने, सास गनाउने, गिजा तल सर्दै जाने, गिजा पाक्ने समस्या देखिन्छ । त्यसैगरी दाँतको रोगमा दाँतमा किरा लाग्ने, दुख्ने वा सुनिने, चुरोटरक्सी खाएपछि क्यान्सरहरु हुने जस्ता समस्याहरु देखिन्छन् । सास गनाउने मुख्य कारण भनेको नै फोहोर भएर हो । हामीले निरन्तर दाँत सफा गरेता पनि उचित तरिकाले सफा नगरेका कारण मुखमा फोहोर बसिराखेको हुन्छ । त्यही बसिराखेको फोहोरको कारणले नै सास गनाउने समस्या देखिन्छ । त्यसैगरी अर्को समस्या पनि हुनेगर्छ, त्यो भनेको पेटको समस्या हो ।

पेटको समस्याले पनि सास गनाउने समस्या हुन्छ । त्यसमध्ये मुख्य कारण भनेको दाँत र गिजा फोहोर हुनु हो । यस्तो समस्याले अन्य रोगहरुलाई पनि असर गर्छ । शरीरमा अन्य समस्याहरु निम्त्याउन ९० प्रतिशत ब्याक्टेरिया मुखबाट नै उत्पन्न हुनसक्छ । जसका कारण मुटुसम्बन्धी वा मधुमेहका समस्याहरु आउने गर्छन् । धेरैजसो किटाणु हाम्रो मुखमा नै हुन्छ । मुखको स्वास्थ्यलाई सन्तुलन गरिएन भने शरीरमा फैलिँदै जान्छ ।

दाँत सफा गर्दा सबैभन्दा पहिला ब्रसको कुरा आउँछ । टुथपेस्ट भन्दा पनि हामीले ब्रस कस्तो छनोट गर्ने भन्ने कुरा आउँछ । त्यसपछि मात्र पेस्ट कस्तो प्रयोग गर्ने भन्ने कुरा आउँछ । कति पटक ब्रस गर्ने, ब्रस मात्र गर्ने कि अन्य सामान पनि प्रयोग गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।

ब्रस खरिद गर्दा सफ्ट र मिडियम लिनुपर्छ । हार्ड खालको प्रयोग गर्नु हुँदैन । हार्ड ब्रस प्रयोग गर्ने हो भने दाँत खिइने, गिजा तल सर्ने समस्या आउँछ । केही खाँदा सिरिङ् हुने खालको समस्या आउँछ । ब्रस गर्ने तरिका भनेको जहिले पनि एउटा पार्टबाट राउन्ड मोसनमा अर्को पार्टसम्म जानुपर्छ । दुई मिनेटभन्दा बढी ब्रस गर्नु हुँदैन । बढी ब्रस गर्दा दाँत खिइनसक्छ ।

पेस्टको जहिले पनि फ्लोराइड भएको पेस्ट प्रयोग गर्नुपर्छ । फ्लोराइडले दाँतको माथिल्लो पार्टमा सुरक्षात्मक लेयर बनाउँछ । त्यसो हुँदा खाना खाँदा बन्ने एसिडले दाँतमा प्रभाव पार्न सक्दैन र दाँत किरा लाग्नबाट बच्छ । ब्रस साथै डेन्टल फ्लोस पनि प्रयोग गर्दा राम्रो हुन्छ । यसले दुईवटा दाँतको बीचमा खाना फस्यो र ब्रस गर्दा पनि गएन भने त्यसलाई सफा गर्नका लागि फ्लोस दैनिक प्रयोग गर्नु राम्रो हुन्छ ।

फ्लोस र इन्टरडेन्टल क्लिनर ब्रस पनि हुन्छ । दाँत मज्जाले टाँसिएको छ भने फ्लोस प्रयोग गर्न मिल्छ । कसैको दाँतको बीचमा ग्याप छ भने त्यस्तो मान्छेले इन्टरडेन्टल क्लिनर ब्रस प्रयोग गर्नुपर्छ । त्यसलाई दैनिक प्रयोग गर्न सकिन्छ ।

बच्चाहरुलाई गुलियोबाट टाँढा गर्न सक्दैनौँ । अब गुलियो खानेकुराका बारेमा कुरा गर्दा बच्चाहरुलाई के सिकाउन पर्‍यो भने केही कुरा खाइसकेपछि कुल्ला गर्नुपर्छ भन्ने सिकाउनुपर्छ । गुलियो खानेबित्तिकै निरन्तर कुल्ला गर्‍यो भने मुखमा भएका गुलियो कुराहरु निस्किन्छ । दाँतमा किरा लाग्ने भनेको गुलिया खानेकुराले नै हो । दाँतमा टाँसिने किसिमका गुलियो खानेकुरा घातक हुन्छन् । बच्चाहरुको दाँत साना साना हुने भएकाले छिटो असर पुर्‍याउँछ ।

बच्चाहरुको अर्को समस्या भनेको ठुलो दाँत आउनु पनि हो । स्पेस नपुगेको कारण दाँत बाङ्गो पनि आउनसक्छ । अर्को कुरा समयभन्दा पहिला नै दाँत निकालिदियो भने दाँतहरु ढल्केर आउने हुन्छ । जुन दाँत आफ्नो ठाउँमा आउने हो त्यो ठाउँमा आउँदैन । अनि अर्को ठाउँमा आउँदा बाङ्गोटिंङ्गो आउँछ । बाँचुन्जेललाई चाहिँ भन्न सकिँदैन । किनभने उमेर बढ्दै गएपछि दाँतको हड्डिले सर्पोट गरेको हुन्छ त्यसले पनि साथ छोड्छ । त्यसलाई बचाउनका लागि गिजामा चाहिँँ ध्यान दिन आवश्यक छ । वर्षमा दुई पटक हामीले दाँत सफा गराउने गर्नुपर्छ । ब्रस राम्रोगरि गर्ने र खानपानमा ध्यान दिने गर्नुपर्छ ।

विदेशको तुलनामा नेपालको स्वास्थ्य उपचार सेवा सस्तो छ । नीजि क्षेत्रमा हेर्दा सबै एड्भान्स टेक्नोलोजी नै छ । तर, सरकारी क्षेत्रमा पर्याप्त छैन । डाक्टरहरु पनि धेरै छैनन् । मुखको स्वास्थ्यका बारेमा सरकार नै गम्भीर छैन । सरकारले बजेट नै छुट्टयाएको हुँदैन । प्राथमिकता नदिएको हो की बजेट नै नपुगेको हो थाहा छैन । नेपालमा गिजासम्बन्धी रोग ९९.९ प्रतिशत मानिसमा नै छ । हामी सबैजना गिजाको समस्याबाट जुधिरहेका छौँ । समस्या थाहा नपाएको मात्र हो । सुरुको लक्षणहरु भनेको गिजाबाट रगत आउनु हो । दाँत पहेँलो भएको, फोहोर जमेको, कालो दाग बसेको, गिजा सुन्निएको जस्तो देखिन्छ । सास गनाउने सुरुको लक्षण हो ।

नेपालीहरु पहिलाको तुलनामा अहिले धेरै सजक छन् । तर, जति हुनुपर्ने हो त्यति अहिले पनि सचेत छैनन् । मुखबाट नै धेरै रोगहरुको सुरुवात हुन्छ । त्यसकारण मुखको स्वास्थ्यलाई त्यतिकै नजरअन्दाज गर्न हुँदैन । वर्षको दुई पटक दाँत सफा गर्ने र चेकअप गराउनुपर्छ । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...