म्याग्दी, २७ जेठ । मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार २७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत् १२२ घरपरिवारमा बसोबास गर्ने ५८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।
उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख ८९९ बराबरको श्रमदान गरेका छन् ।
पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार ५२७ मिटर लामो मुुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिनुभयो ।
म्याग्दीको भौगोलिक रूमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत् खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो ।
स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ ।
मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१÷८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताउनुभयो । डाँडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उहाँले बताउनुभयो ।