हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

115

खाँदबारी, २७ जेठ । सङ्खुवासभाको खाँदबारीबाट अत्यधिक रक्तस्रावबाट पीडित भएकी सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उहाँको उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भइ खाँदबारी नगरपालिका–४ की ३८ वर्षीया अनिता श्रेष्ठको नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत प्रदीप श्रीवाल जानकारी दिनुभयो ।

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला लामो व्यथा लागि शिशु जन्माउन कठिनाइ भएका, गर्भमा नै शिशुको मुत्यु भएमा र सुत्केरीपश्चात् अत्यधिक रक्तस्राव भएमा निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

जिल्ला अस्पतालमा जेठ २२ गते भर्ना हुनुभएकी सुत्केरी श्रेष्ठलाई आज बिहानदेखि अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत् थापाथली प्रसूति गृह काठमाडौँ पठाइएको मेडिकल अधिकृत श्रीवालले बताउनुभयो ।

जिल्लामा चालु आर्थिक वर्षमा नौ जना गर्भवती, प्रसूति, सुत्केरी तथा नवजात शिशुहरूलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हवाई उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालन भएयता हालसम्म करिब ३८ जना बढीको उद्धार गरिसकिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धारबाट धेरै महिलाको ज्यान जोगिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्यचौकीमा शल्यक्रियासहितको प्रसूति सेवा पर्याप्त छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दूर्गममा भरपर्दो प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएकाहश १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...