झापा, २२ वैशाख । जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।
दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नौ महिनामा दुर्घटनामा परी ११७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन् । त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै ८७६ मोटरसाइकल, १६२ टेम्पो, १४१ जिप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई÷दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन् ।
कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताउनुभयो । उहाँका अनुसार कारबाहीबाट तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको छ ।
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । नौ महिनामा चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ ।