काठमाडौँ, ११ वैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पदबहाली गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शपथपछि उहाँले सिंहदरबार पुगेर पदबहाली गर्नुभएको हो ।
सो क्रममा उहाँले वार्ताका माध्यामबाट आन्दोलनरत शिक्षकको माग सम्बोधन गरिने बताउनुभयो । आफूले भर्खर मात्र मन्त्रालयको जिम्मेवारी लिएको जनाउँदै उहाँले शिक्षा क्षेत्रकाबारेमा जानकारी लिएर अघि बढ्ने स्पष्ट पार्नुभयो ।
तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि नेकपा (एमाले)का स्थायी कमिटी सदस्य पन्त शिक्षामन्त्रीमा नियुक्त हुनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा बुधबार पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।