सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ गीत सार्वजनिक

33

काठमाडौँ, ४ वैशाख । गायिका सुस्मिता स्याङतानको आवाजमा ’कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ ।

नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहोर्‍याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।

यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दै छ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उहाँको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय बिदाईप्रति गम्भीर प्रश्न उठाइएको छ ।

गीतमा सशक्त स्वर दिनुभएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गर्नुभएको छ ।

संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गर्नुभएको छ भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन-मिक्सिङ र मास्टरिङ-गोविन्द सोनीले गर्नुभएको हो, रेकर्डिङ भने सबिर कार्कीले ‘हुरी रेकर्डिङ स्टुडियो’, कुपण्डोलमा सम्पन्न भएको हो ।

भिडियो पक्षलाई पनि सशक्त बनाउन निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिनुभएको छ । सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन् ।

यस गीतमार्फत् अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ । दर्शक, श्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...