फिल्म र नाटकको अभिनय सामान्य होइन, फरकपन छ : दिब्यदेव पन्त [भिडिओ]

7

काठमाडौँ, २९ चैत । रंगमञ्चमा स्थापित कलाकार दिब्यदेव पन्त पछिल्लो समय फिल्मको अभिनयमा व्यस्त हुनुहुन्छ । सकरात्मक र नकरात्मक दुवै भूमिकामा फिट हुने गरेका पन्त निर्माता र निर्देशकहरुको रोजाइमा पर्नुहुन्छ ।

अंग्रेजी र नेपाली नाटकहरुमा अब्बल अभिनय गरेर खारिएका पन्त पछिल्लो समय निरन्तर फिल्ममा इन्गेज हुनुहुन्छ । ‘हिजो आजका कुरा’, ‘रुदाने’, ‘चिसो एस्ट्रे’ हुँदै हाल ‘पिताम्बर’मा खलनायकका रुपमा देखिँदै हुनुहुन्छ । त्यसपछि उहाँ ‘कर्मा’मा पनि देखिनेछन् । तर, उनी यतिबेला ‘पिताम्बर’को प्रमोसनमा सक्रिय हुनुहुन्छ ।

‘फिल्म कत्तिको चल्ने हो यत्तिकै भन्न सक्दिनँ तर उत्साहित छु । कौतुहलता र डर दुवै महसुस भइरहेको छ । राम्रो टिमसँग काम गरेकाले विश्वस्त छु,’ न्यूज बैंकसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘फिल्म नाटक जस्तो नहुने रहेछ । आज बिग्रयो भोलि केही सुधारौँला भन्न नसकिने रहेछ । फिल्ममा अभिनय गरेपछि सकियो ।’

हरेक फिल्ममा केही सन्देश हुन्छ तर पिताम्बर एक्सन फिल्म भएको उहाँ बताउनुहुन्छ । ‘यो फिल्म सन्देश नै दिने हिसाबले बनाइएको चाहिँ होइन । मनोरञ्जनात्मक भएकाले यो एक्सन फिल्म हो । हलमा दुई घण्टा बसेर हेर्दा भरपुर मजा लिन सकिन्छ । स्थापित कलाकारहरुको अभिनय भएकाले यसले उचाइ अवश्य लिनेछ,’ उहाँले विश्वास व्यक्त गर्नुभयो ।

खलनायक चरित्र निर्वाह गरेको र एउटा साम्राज्य जमाएर बसेको भूमिका आफूले निभाएको उहाँले सुनाउनुभयो । कृषा चौलागाईको निर्देशन प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो,‘निर्देशकहरु महिला पुरुष जे भएपनि निर्णय गर्ने भनेको कमान्डिङ क्षमताको कुरा हो । उहाँमा कुनै कतै पनि कमी देखिएन । कथामा पकडदेखि टेक्निकल नलेजसम्म सबैकुरामा उहाँ राम्रो हुनुहुन्छ । एकजनाले मात्र पनि होइन पूरै टिमको भूमिका उत्कृष्ट छ ।’

नाटक र फिल्म दुवैमा चुनौति उस्तै भए पनि अभिनय भिन्न हुने गरेको उहाँको अनुभव छ । ‘माध्यम फरक भए पनि गर्नुपर्ने भूमिका भनेको अभिनय नै हो । नाटकमा लाइभ अडियन्सको साथमा गरिन्छ भने फिल्ममा सानो सानो टुक्रा टुक्रामा गर्दागर्दै एउटा ठुलो बन्छ । फिल्ममा टेक्निकल कुरा बढी हुने गर्छ । स्टेजमा गएपछि निर्देशकले हस्तक्षप गर्दैनन् । जिम्मेवारी आफ्नै हुन्छ र रमाइलो उत्तिकै हुन्छ,’ उहाँले अनुभव सुनाउनुभयो ।

फिल्म पिताम्बरको टिमले ठुलो मेहनत गरेकाले सकरात्मक प्रतिक्रिया आउनेमा उहाँ ढुक्क हुनुहुन्छ । ट्रेलर, टिजर, गीत सबैको प्रतिक्रिया राम्रो आएकाले दर्शकहरुले आशा गरेको चलचित्रमा बनेको उहाँको दाबी छ ।

फिल्म ‘महाजात्रा’मा पनि आफूले अभिनय गरेको र लामो समय रंगमञ्चमा विताएकाले धेरै दर्शकहरुले माया गर्नुभएको उहाँले सुनाउनुभयो । ‘हुनतः दर्शकहरुको धारणा बुझ्न गाह्रो हुन्छ । मूल्यांकन उहाँहरुले नै गर्ने हो । ‘पोइट आइडल’ले पनि मलाई चिनाउन सहयोगी भूमिका खेल्यो,’ उहाँले भन्नुभयो ।

कविताहरु धेरै पढेको तर आफैँले भने सिर्जना नगरेको बताउनुभएका उहाँले साहित्यप्रति आफू ठुलो झुकाव रहेको पनि सुनाउनुभयो । फिल्म ‘कर्मा’ सस्पेन्स र एक्सन ड्रामा भएकाले आफू प्रहरी निरीक्षकका रुपमा भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । दुईवटै फिल्ममा आफूले गरेको अभिनय एकदमै सशक्त भएकाले दर्शकहरुले रुचाउनेमा विश्वस्त हुनुहुन्छ ।

‘म सुदूरपश्चिममा हुर्किएको मान्छे हुँ । मेरो पहिलो भाषा डोटेली, दोस्रो नेपाली र तेस्रोमा हिन्दी र चौथोमा अंग्रेजीे भाषा पर्छ । तर, अपनत्व र सहजता नेपाली नाटकहरुमा हुन्छ । अंग्रेजी नाटक गर्दा अलि नहुने रहेछ । तर, विश्वप्रसिद्ध नाटकहरुमा मैले काम गर्ने मौका पाए । तर लेखाइ, पात्रको गहनताको प्रभाव छुट्टै हुन्थ्यो,’ नाटकको अभिनयबारे सुनाउँदै भन्नुभयो,‘अंग्रेजी नाटक गर्दा मजा आउथ्यो तर नेपालीको मजा फेरि छुट्टै हुन्छ ।’

फिल्म र नाटक दुवैलाई नै सँगै अगाडि लाने सोचमा रहेको बताउनुभएका उहाँले चाँडै नाटकमा पनि देखिने बताउनुभयो । ‘मैले लगभग ३० वटा जति नाटक गरेँ । फिल्म रिलिज भइ सकेका, हुन लागेका र हुने क्रममा रहेका १५ वटा जति पुग्यो होला । यो सबै हेर्दा नेपाली चलचित्रको बजार आशावादी हुनसकिन्छ । अघिल्लो वर्ष मात्रै नेपाली फिल्मले ७५ करोडको व्यापार गर्नु सामान्य कुरा होइन,’ उहाँले भन्नुभयो ।

शुक्रबारबाट रिलिज हुने ‘पिताम्बर’कृषा चौलागाईंको निर्देशनमा बनेको चलचित्र हो । यसमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ । विशाल चौलागाईं निर्माण गर्नुभएको हो ।

त्यस्तै, शुक्रबार नै रिलिज भइरहेको फिल्म ‘कर्मा’मा पनि दिब्यदेवको जोडदार अभिनयमा देखिँदै हुनुहुन्छ । कर्मामा कलाकारहरू विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरीलगायत कलाकार हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...